फ्लोरिडामा हिट-एन्ड-रनमा संलग्न अवैध आप्रवासीलाई देशनिकाला
मियामी, फ्लोरिडा / यूएस इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले फ्लोरिडामा भएको घातक सवारी दुर्घटनापछि फरार भएकी एक अवैध आप्रवासी महिलालाई पक्राउ गरी देशनिकाला गरेको जनाएको छ।
हिल्डा एस्पेरान्सा लोपेज-हर्नान्डेज नामकी ती महिलाले सन् २०२१ मा रातो रंगको ‘फोर्ड मुस्ताङ’ चलाउँदै गर्दा ६३ वर्षीय स्थानीय बासिन्दा डेभिड हेस सवार सवारीसँग ठक्कर दिएकी थिइन्।
उक्त दुर्घटनामा हेसको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनापछि लोपेज-हर्नान्डेज घटनास्थलबाट भागेर नजिकैको एक रेस्टुरेन्ट पुगेकी थिइन् र आफ्नो प्रेमीलाई बोलाएर गाडी साटासाट गरी प्रमाण लुकाउने प्रयास गरेको अनुसन्धानबाट खुलेको छ। दुवैले प्रहरीलाई घटना बारे जानकारी नदिएको बताइएको छ।
अदालतले उनलाई २०२३ जनवरी ९ मा हिट-एन्ड-रन, लाइसेन्स बिना सवारी चलाएको र प्रमाण लुकाएको अभियोगमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको थियो।
जेल सजाय पूरा गरेपछि आइसले मियामीले उनलाई अध्यागमन डिटेनरका आधारमा पुनः पक्राउ गरी अप्रिल १२ मा देशनिकाला गरेको हो।
आइसका निर्देशक टोड एम. लियोन्सले भने, “उनले दुर्घटनापछि पीडितको अवस्थाबारे चासो नदेखाई भाग्ने निर्णय गरिन्। अवैध रूपमा देशमा बस्नु, लाइसेन्स बिना सवारी चलाउनु र घटनास्थलबाट फरार हुनु मात्र होइन, उनले आफ्नो अपराध अरूलाई थोपर्नेसम्मको प्रयास गरिन्।”
लोपेज-हर्नान्डेज सन् २०१४ मा आफ्नो आमासँग अमेरिका प्रवेश गरेकी थिइन् र पछि अध्यागमन अदालतमा उपस्थित नहुँदा २०१८ मा न्यायाधीशले अनुपस्थितिमै देशनिकालाको आदेश दिएका थिए।
उनी हन्डुरसकी भएको बताइएको छ ।
तस्विर : आइस
















