नर्थ क्यारोलिना नेपाल दिवस भव्यताका साथ सम्पन्न, नयाँ वर्षको शुभकामना आदान प्रदान
कृष्णराज खनाल
राले, नर्थ क्यारोलिना । विगतका वर्षहरूझैँ यस वर्ष पनि अमेरिकाको नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिवार नेपाल दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
नर्थ क्यारोलिनास्थित नेपालीहरूको संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसीएनसी) ले आयोजना गरेको नेपाल दिवसको यो दशौँ संस्करण हो ।
नेपाल दिवसमा करिब तीन हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।
टाउन अफ मोरिसभिल, एपेक्स, केरी, होली स्पिंग र वेक काउन्टीले अप्रिलको तेस्रो शनिवारलाई नेपाल दिवसको रुपमा मनाउन घोषणा गरे अनुरूप प्रत्येक वर्ष सो कार्यक्रम गरिँदै आइएको छ ।
हामी नेपालबाट आउने मानिसको लागि नेपाल बाहिर पनि नेपाल देख्ने एक अवसर हो, मलाई यो कार्यक्रम देख्दा निकै खुसी लागेको छ भर्खरै नेपालबाट आएका किशोर पौडेलले भने ।
एनसीएनसीका पूर्व अध्यक्ष आरपी पौडेल र वरिष्ठ साहित्यकार डा. ऋषि बस्ताकोटीले पनि यति भव्य रुपमा आयोजना भएकोमा खुसी व्यक्त गरे ।
बसाइ सराइका कारण अहिले नर्थ क्यारोलाइना नेपालीहरूको रोजाइको स्थान बनेको छ ।
कार्यक्रमको सुरुवात नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट भएको थियो ।
कार्यक्रममा यहाँ उपस्थित केरी, मोरिसभिल, एपेक्स र होलिस्प्रिंग नगरका प्रतिनिधिहरूले नेपाल र नेपालीको मौलिक संस्कृतिको खुलेरै प्रशंसा गरे ।
शुभकामना दिने क्रममा उनीहरुले सगरमाथाको स्मरण गर्दै नर्थ क्यारोलिना फस्ट इन फ्लाइट मात्र होइन, अब फस्ट इन हाइट पनि भएको बताए । उनीहरुले नेपाली नयाँ वर्षको शुभकामना दिँदै नेपालीहरूको सबै क्षेत्रमा उपस्थिति रहेको बताउँदै यी क्षेत्रको सामाजिक, शैक्षिक र सांस्कृतिक प्रवर्धन र उन्नयनमा नेपालीहरूको योगदान रहेको जानकारी दिए ।
उनीहरुले नेपालीहरूले पहिलो र दोस्रो युद्धमा समेत आफ्नो वीरता देखाएर अमेरिकालाई सहयोग गरेको स्मरण पनि गरे । नर्थ क्यारोलिनाको यो क्षेत्रमा नेपाली समुदायको बढोत्तरी हुँदै गएको स्मरण गर्दै आफूहरूलाई गर्वको महसुस भएको बताए ।
यसरी आफ्नो मन्तव्य दिनुहुनेमा नर्थ क्यारोलिनाको तल्लो सदनकी सांसद एलेनी मार्सल, टाउन अफ केरीकी प्रतिनिधि सारिका वंशल, मोरिसभिल टाउनका तर्फबाट टिजे काउली र सतीश गारिमेला, एपेक्स टाउनका तर्फबाट ज्याक गिल्वर्ट, होली स्प्रिंगका तर्फबाट माइक कोन्ड्राटिकलिज थिए।
यस अघि अमेरिकाको तल्लो सदनकी कंग्रेस प्रतिनिधि डेव्रेहा रोसको शुभकामना मन्तव्य पनि पढेर सुनाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासकी काउन्सिलर अरुणा घिसिङले यस्ता कार्यक्रमले आफ्नो नेपालको कला, भाषा, संस्कृति, परम्परा र भेषभूषालाई जोड्न टेवा पुग्ने भएकोले यो महत्त्वपूर्ण छ भनीनन । उनले प्रवासी नेपालीहरूलाई नेपालको विकास र समृद्धिमा सहयोग पुर्याउन आव्हान पनि गरिन् ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै दसौँ नेपाल दिवस समारोह समितिका अध्यक्ष एवं एनसीएनसीका पूर्व अध्यक्ष डा. विकास शाक्यले बालबालिकाहरूलाई नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै हाल यो क्षेत्रमा करिब १० हजार नेपाली बसोबास गरेको जानकारी दिए ।
कार्यक्रममा सुजन एण्ड परिता एजुकेशन फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने छात्रवृत्ति कलेज प्रवेश गर्न लागेका आठ जेहेन्दार विद्यार्थीलाई तीन हजार एक सय डलर राशिको पुरस्कार पनि प्रदान गरिएको थियो । सोही अवसर पारेर प्रसिद्ध साहित्यकार निलम कार्की निहारिकाले नेपालमा हालै सार्वजनिक गर्नुभएको राजमाता उपन्यासको सार्वजनिकीकरण पनि गरिएको थियो ।
नेपाल दिवसको कार्यक्रम नेपालीहरूको बाक्लो उपस्थिति रहेको मोरिसभिलस्थित पार्कमा सम्पन्न भएको थियो । एनसीएनसीका अनुसार, कार्यक्रमको सुरुवात नेपाली विविधता झल्किने सांस्कृतिक झाँकीसहित सहभागीहरूले पार्कको एक फन्को लगाएका थिए ।
संस्थाका अनुसार, नेपाल दिवसमा नेपाली मूलका र नेपाललाई माया गर्ने समुदायका झण्डै तीन हजार मानिस सहभागी थिए । सो अवसरमा एकआपसमा नेपाली नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदानसहित करिब तीन दर्जन नेपाली संस्कृति र परम्परा झल्काउने नृत्य र गीत सहितको रमाइलो कार्यक्रम दिनभर सञ्चालन भएको थियो ।
ससाना बालबालिकाहरूले यो नेपाली शिर उचाली, जून त लाग्यो ताराले, डम्फुमा सेलो, प्राणभन्दा प्यारो, पानी पर्यो असिना झर्यो, दर्पण छाया…जस्ता गीतमा आफ्नो नृत्यकला प्रस्तुत गरेका थिए ।
त्यसै गरी यो मन त मेरो नेपाली हो, वरिपरि गाउँभरि हल्ला छ, तालको पानी माछीले खानी जस्ता चर्चित गीत संगीत पस्केर उपस्थित दर्शकलाई मोहित पारेको थियो ।
समारोहमा नेपाली खाद्य परिकार र नेपाली पोशाक, कला र संस्कृति झल्कने खालका स्टलहरू पनि राखिएको थियो ।
आयोजकहरूले सो कार्यक्रमको सफलताका लागि दर्जनौँ व्यक्ति तथा सङ्घसंस्थाबाट चन्दा रकम प्राप्त गरेको जनाएको छ ।
संस्थाका अध्यक्ष ददिन पाण्डेले वुद्ध र सगरमाथाको देशको पहिचान गराउँदै उपस्थित प्रतिनिधि तथा नेपाली समुदायलाई धन्यवाद दिए। ‘प्रवासमा स्थानीय सरकारको मान्यतासहित नेपाल दिवस मनाउन पाउनु आफैमा गर्वको कुरा भएको र यस कार्यक्रमले अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मद्दत पुगेको छ’ । उनले भने ।
कार्यक्रममा ससाना बालबालिकादेखि बृद्धबृद्धाहरु नेपाली भादगाउँले टोपी, दौरा सुरुवाल, धोती र चौबन्दी चोली, नेपाल, हिमाल र नेपाली झल्काउने भेसभुसासहित उपस्थित भएका थिए ।
यस अघि सो दिवसको उद्घाटन रिबन काटेर सुरु भएको थियो । सो कार्यक्रम महासचिव अञ्जु गिरी र सह सचिव सुष्मा केसीले सञ्चालन गरेका थिए।















