नर्थ क्यारोलाइनामा अप्रिल १८ मा नेपाल परेड डे हुँदै
कृष्णराज खनाल
राले । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको नेपाल परेड डे यस पटक अप्रिल १८ शनिवार हुने भएको छ ।
एनसीएनसीले गर्दै आएको यो परेड डे दसौँ संस्करण हो ।
एनसीएनसीले नर्थ क्यारोलाइनाको विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन अनुरोध पनि गरेको छ । आयोजकले यस पटक राम्रो दिन परेकोले दुई हजारभन्दा बढी नेपालीहरू उपस्थित हुने जानकारी दिएको छ ।
आयोजकका अनुसार, नेपाल परेड डे विगतका वर्षमा जस्तै भव्य रुपमा सम्पन्न गराउन विभिन्न व्यक्ति तथा समूहलाई छुट्टाछुट्टै कार्यभार तोकिएको छ । परेड डे मोरिसभिलस्थित एभिएसन पार्क वे मा हुने भएको छ ।
सो परेड डेमा विशेषतः नेपालका विभिन्न जातजातिको पहिरन र झाँकीसहितको सांस्कृतिक कार्यक्रम हुनेछ ।
गाना बजाना र गीत, संगीत र नृत्य यसको अर्को आकर्षणका रुपमा रहेको एनसीएनसीले जनाएको छ ।
एनसीएनसीले यस पटक परेड डेमा यसबाहेक निःशुल्क तस्बिर खिच्ने, नेपाली खानाको विभिन्न स्टलमा ममदेखि चाउचाउसम्म र चिउरादेखि छोइलासम्म, अन्य व्यावसायिक स्टलहरू, बालकालिकाहरुका लागि बाउन्स हाउस र अन्य खेलहरू, अनुहारमा रंगरोगन लगाउने जस्ता विविध मनोरञ्जनको कार्यक्रम राखिएको बताइएको छ ।
एनसीएनसीका पूर्व अध्यक्ष विकास शाक्यले यो दसौँ संस्करणमा अन्य थुप्रै मनोरञ्जनका साधन हुने भएकोले उपस्थित भइदिनुहुन अनुरोध गरेका छन् ।
















