ह्यारिसबर्गमा नवाह ज्ञान महायज्ञ सम्पन्न, चैते दशैं र रामनवमीको विषेश पुजा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / हिंदू धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) द्वारा पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आयोजित नवाह ज्ञान महायज्ञ बिहिवार सुसंपन्न भएको छ।
ओएचआरसीका मिडिया संयोजक सिएम निरौला निरौलाका अनुसार ह्यरिसबर्ग स्थित श्रीलक्ष्मी नारायण हरिहरधाममा रामनवमीको दिन पारे महायज्ञ सम्पन्न भएको हो।
‘संस्थाका मठादि स्वर श्री अनन्त विभूषित श्री चक्रपाणि प्रपन्न द्वारा कथा प्रवचन भएको थियो भने विभिन्न संघ संस्था एवं भजन मण्डली हरुले भजन कीर्तन प्रस्तुत गरेका थिए र झाकी इत्यादि सहित यसपालिको नवाह ज्ञान विषेशरुपमा सम्पन्न भएको छ।’ समाज टाइम्स सँगको कुराकानीमा निरौलाले भने।

उनका अनुसार रामनवमीको पवन अवसर पारेर ६ जना बटुकहरुको सामुहिक व्रतबन्ध र भिक्षा दिने कार्यक्रम समेत भएको थियो ।

कार्यक्रममा अमेरिकाका विभिन्न राज्य तथा अस्ट्रेलिया र नेदरल्याण्ड लगायतका धेरै देशहरुबाट भक्तजन आएका थिए।
‘यसपाली भक्तजनहरुको उपस्थिति उत्साहजनक रह्यो।’ निरौलाले भने, ‘अमेरिका भित्र पनि ओहायो, क्यान्टोकी, आइओवा लगायत अन्य धेरै स्टेट हरु बाट समेत श्रद्धालु भागत भक्तजन हरुको उपस्थित रह्यो। करिब करिब एक हजार भन्दा धेरै श्रद्धालु भागत भक्तजन हरुको उपस्थित रहेको हाम्रो अनुमान छ।’
निरौलाका अनुसार मन्दिरमा चैते दशै तथा रामनवमीको अवसरमा विषेश पुजा भएको थियो ।
‘चैते दशैं र रामनवमी को पावन अवसर पारेर आयोजना गरिएको यस महायज्ञले धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ।’ उनले भने।
चैते दशैंलाई शक्ति उपासना र धार्मिक शुद्धिकरणको पर्वका रूपमा लिने गरिन्छ भने रामनवमी भगवान् श्रीरामको जन्मोत्सवका रूपमा मनाइन्छ, जसले धर्म, सत्य र मर्यादाको सन्देश दिन्छ।
















