आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण र भद्दा नाटक हो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगले तयार पारेको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण र ‘भद्दा नाटक’ भएको टिप्पणी गरेका छन्।
बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले फौजदारी संहिता २०७४ को दफा १८१ र १८२ लाई आधार बनाएर ल्याइएको सिफारिस कानुनी रूपमा मेल नखाने र मानसिक रूपमा दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए ।
‘पूर्वाग्रहपूर्ण प्रतिवेदन ल्याउनको लागि कतै ठाउँ नपाएपछि फौजदारी संहिता २०७४ को दफा १८१र १८२ भन्ने कतै मेल नखाने दफा मानसिक रुपमा तनाव दिने प्रयत्न सहित आयोगले गरेको कु–कर्म हो । यसमा हामी दुःख व्यक्त गर्छौँ । यस्ता कुरा हाम्रा विरुद्ध छन् । प्रधानमन्त्री भएबापत अपराधी हुनुपर्ने ?अत्यन्तै स्तरहीन क्रियाकलाप भइरहेको छ, यो एउटा भद्दा नाटक हो ।’
उनले कतै ठाउँ नपाएपछि नमिल्ने दफा प्रयोग गरेर प्रतिवेदन ल्याइएको भन्दै यो आयोगको कु–कर्म भएको आरोप लगाए ।
ओलीले प्रधानमन्त्री पदमै बसेका व्यक्तिलाई अपराधीकरण गर्ने प्रयास भइरहेको भन्दै यस्तो गतिविधि अत्यन्त स्तरहीन रहेको प्रतिक्रिया दिए।
ओलीले बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीति झल्काउनेगरीे प्रतिवेदन आएको आरोप लगाउँदै यसलाई निन्दनीय, खेदजनक र अस्वीकार्य भएको बताए ।
उनले भने,‘छानबिन गर्ने र मुद्दा चलाउने सिफारिस गरेको छ । दफा १८१ र १८२ घट्ना स्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्छ र उसबाट घट्ना प्रत्यक्ष रुपमा घटाएको हुनुपर्छ । अनि मात्र लापरबाही गरेर ज्यान गयो भन्ने हुन्छ । प्रधानमन्त्रीले न गोली चलाउँछ न आदेश दिन्छ । यो कानुनी हिसाबले सिफारिस गर्नै नमिल्ने कुरा हो । न्यायाधीश भइसकेको मान्छेले यति कुरा नबुझ्ने भन्ने छैन् । यो बदनाम गर्ने ,चरित्र हत्या गर्ने र घृणाको राजनीति प्रकट भएको मात्र हो त्यसैले यो निन्दनीय,खेदजनक र अस्वीकार्य छ ।’















