ट्रम्प प्रशासनको प्रभाव : २०२५ मा अमेरिकामा भिसा जारी घट्दा आप्रवासनमा गिरावट
कार्लाल, पेन्सिलभेनिया / अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि भिसा स्वीकृतिमा उल्लेखनीय गिरावट आएको एक प्रतिवेदनले देखाएको छ।
यसले ट्रम्प प्रशासनको नीतिहरूले कानुनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिहरूमा कस्तो प्रभाव पारेको छ भन्ने देखाएको जनाएको छ ।
अमेरिकी सञ्चार माध्यम वासिङ्टन पोस्टका अनुसार सन् २०२५ को जनवरीदेखि अगस्टसम्मको अमेरिकी विदेश मन्त्रालयको प्रारम्भिक भिसा तथ्याङ्क अध्ययन गर्दा ग्रीन कार्ड र अस्थायी भिसा जारी गर्ने सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २ लाख ५० हजार ‘११ प्रतिशत’ ले घटेको पाइएको छ।
ट्रम्प प्रशासनले गत जुनमा १९ वटा मुख्यतः मुस्लिम बहुल देशहरू तथा क्युबा जस्ता अमेरिकासँग तनावपूर्ण सम्बन्ध भएका देशहरूमा यात्रा प्रतिबन्ध लगाएको थियो। साथै, विद्यार्थी भिसा अन्तर्वार्ता रोकिएको र जाँच प्रक्रिया कडा बनाइएको थियो।
यो उपायहरूसँगै संघीय खर्च कटौतीका कारण विदेश मन्त्रालयमा कर्मचारी सङ्ख्या घट्नुले पनि भिसा प्रक्रियामा गिरावट ल्याएको बताइएको छ।
विशेषगरी भारत र चीनका नागरिकका लागि भिसा स्वीकृतिमा ठूलो गिरावट आएको छ । जुन सन् २०२४ को तुलनामा करिब ८४ हजारले घटेको हो। यसको मुख्य कारण ती देशहरूबाट आउने विद्यार्थी र कामदारहरूको सङ्ख्या घट्नु हो।
स्थायी बसोबास ‘ग्रीन कार्ड’ सम्बन्धी भिसा पनि घटेको छ । विशेष गरी कामदार, केही पारिवारिक सदस्यहरू तथा अमेरिकी सेनासँग काम गरेका इराक र अफगानिस्तानका नागरिकहरूको हकमा उल्लेख्य कमी आएको छ। साथै, फिलिपिन्स र भियतनामका नागरिकका लागि पनि करिब १० हजार कम भिसा जारी गरिएको छ।
विदेश मन्त्रालयले विद्यार्थी तथा एक्सचेन्ज भिसा अन्तर्वार्ता रोक्नुका साथै सबै आवेदकहरूको सामाजिक सञ्जाल खाताहरूको जाँच गर्न निर्देशन दिएको थियो।
व्यापार र पर्यटन भिसामा पनि गिरावट आएको छ । सन् २०२५ को पहिलो आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ लाख ‘३.४ प्रतिशत’ ले कम भिसा जारी गरिएको छ।
ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी नागरिकलाई पहिलो प्राथमिकता दिने स्पष्ट जनादेशसहित निर्वाचित भएको बताएकी छिन् ।
यसैबीच, कडा आप्रवासन नियन्त्रणको पक्षमा वकालत गर्ने फेडेरेशन फर अमेरिकन इमिग्रेसन रिफर्मले भिसा सीमित गर्दा श्रम बजार र शिक्षा प्रणालीमा अमेरिकीहरूलाई प्राथमिकता दिइने बताएको छ।
उक्त तथ्याङ्कले सन् २०२५ मा ट्रम्प प्रशासनअन्तर्गत अमेरिकामा आप्रवासन घट्दै गएको चित्रलाई अझ स्पष्ट बनाएको छ। थिंक ट्याङ्क ब्रुकिङ्स इन्स्टिच्युटका अनुसार झन्डै आधा शताब्दीपछि पहिलो पटक अघिल्लो वर्ष देशमा भित्रिनेभन्दा बढी आप्रवासी बाहिरिएका छन्।















