ओहायोमा गायक सज्जन राज वैद्यको भव्य कन्सर्टको तयारी, अहिलेसम्मकै ठूलो शो हुने अपेक्षा
कोलम्बस, ओहायो / अमेरिकाको ओहायो राज्यमा चर्चित नेपाली गायक सज्जन राज वैद्यको भव्य कन्सर्ट आयोजना हुने भएको छ। आगामी मार्च २८, २०२६ (शनिबार) साँझ ७:३० बजे हुने उक्त कार्यक्रम कोलम्बस शहरस्थित केम्बा लाइभमा आयोजना गर्न लागिएको हो।
आयोजकहरूका अनुसार करिब २२ हजार दर्शक अट्ने क्षमताको हलमा आयोजना हुन लागेको यो कार्यक्रम ओहायोमा नेपाली कलाकारको अहिलेसम्मकै सबैभन्दा ठूलो सांगीतिक शो हुनसक्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको आयोजना सोचेको मनोरञ्जनले गरिरहेको छ। आयोजकमध्ये एक प्रज्ञान काफ्लेले यो कार्यक्रमले रेकर्ड तोड्नेमा आफूहरू आशावादी रहेको बताएका छन्।
समाज टाइम्ससँग कुरा गर्दै काफ्लेले भने, “अहिलेसम्मको सबैभन्दा ठूलो शो यही हुनसक्छ भन्ने हाम्रो विश्वास छ। किनकि सज्जनराज बैद्य भनेपछि जेन्जीहरूमा उनको अत्यन्तै ठूलो क्रेज छ, उनीहरू एकदमै क्रेजी फ्यान हुन्।”
कार्यक्रमको व्यवस्थापनमा प्रज्ञान काफ्ले र विजय राई लगायतको टोली सक्रिय रहेको आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रमका लागि स्पोन्सर तथा कोल्याबोरेसन का अवसरहरू पनि खुला राखिएको छ।
सज्जन राज वैद्य नेपाली संगीतका लोकप्रिय गायक–संगीतकारमध्ये एक मानिन्छन्। उनका “हावा जस्तै”, “फुट्ने सपना”, “चिठी भित्र” लगायतका गीतहरू युवापुस्तामाझ अत्यन्त लोकप्रिय छन्। अमेरिका लगायत विश्वका विभिन्न शहरमा हुने उनका लाइभ कन्सर्ट हरू प्रायः हाउसफुल हुने गरेका छन्।
ओहायोमा हुन लागेको यो कन्सर्टमा ठूलो संख्यामा नेपाली भाषी समुदाय तथा संगीतप्रेमीहरू सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार हाल टिकट बिक्री र कार्यक्रमको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।
यस कन्सर्टलाई ओहायोमा नेपाली संगीतको ऐतिहासिक रेकर्ड बनाउने शोका रूपमा स्थापित गर्ने लक्ष्य आयोजकको रहेको बताइएको छ।















