निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको मातृकाको आरोप
जनकपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् धनुषा क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद यादवले निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको आरोप लगाएका छन् ।
हिजो (आइतबार) निर्वाचन आयोगले धनुषा क्षेत्र नं.१ को मतगणनाको नतिजा रोक्न निर्देशनसहितको पत्र जारी गरेपछि यस क्षेत्रका उम्मेदवारहरू आक्रोशित भएका छन् ।
नेकपाबाट उम्मेदवारी दिएका यादवले हिजो धनुषाको धनुषा धाममा विरोध जनाएका थिए । उनले अबेर राती सोही स्थानमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले जारी गरेको निर्देशनको विरोध गरेका छन् । उनले आयोगले आफै गरेको निर्णय तीन पटक परिवर्तित गरेर अन्तमा उम्मेदवारहरूलाई नै अन्योलमा पारेको आरोप लगाएका छन् ।
कालो सूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले पहिला रास्वपाका सोही क्षेत्रबाट उम्मेदवारी दिएका किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनको मतगणना गरी छुट्टै लगत राख्ने भनी दोस्रो पटक निर्णय गरेको थियो । र हिजो फेरि अर्को निर्णय गर्दै मुद्दा विचाराधीन रहेको भन्दै निर्वाचन परिणाम घोषणा नगर्न सूचना जारी गरेको थियो ।
रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भए पनि उनलाई सो क्षेत्रमा अन्य सबै उम्मेदवारहरू भन्दा बढी मत परेको थियो ।
उनी पछि नेकपाका उम्मेदवार मातृका यादवलाई १० हजार ४२८ मत परेको थियो भने नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहलाई ९ हजार ४८५ र नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डललाई ९ हजार २२० मत परेको थियो ।
रास्वपाको उम्मेदवार कमलको उम्मेदवारी खारेज मान्ने हो भने नेकपाका उम्मेदवार मातृकाको जित हुने निश्चित देखिएको थियो । तर हिजो आयोगले जारी गरेको सूचना पछि मातृकासहित सम्पूर्ण उम्मेदवारको नतिजा अन्योलमा परेको छ ।















