बाग्लुङ्गेहरुको नर्थ अमेरिका स्तरीय क्षेत्रीय भेला एवं चैते दशै वनभोज अप्रिलमा नर्थ क्यारोलिनामा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ उत्तरी अमेरिकामा बसोबास गर्ने बाग्लुङ्गेहरुको नर्थ अमेरिका स्तरीय क्षेत्रीय भेला एवं चैते दशै वनभोज आगामी अप्रिलमा अमेरिकाको नर्थ क्यारोलिनामा हुने भएको छ।
अन्तर्राष्ट्रिय बाग्लुङ्ग समाज, बाग्लुङ्ग समाज अमेरिका र बाग्लुङ्ग समाज अमेरिका नर्थ क्यारोलिना च्याप्टरको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
‘नर्थ अमेरिका स्तरीय क्षेत्रीय भेला २०२६ र नयाँ नेपाली वर्ष तथा चैते दशै कार्यक्रम २०२६ अप्रिल ४ र ५ मा अमेरिकाको नर्थ क्यारोलिनामा आयोजना हुने छ।’ अन्तर्राष्ट्रिय बाग्लुङ्ग समाजका उपाध्यक्ष दिपक गौतमले समाज टाइम्स सँग भने।
गौतमका अनुसार अन्तर्राष्ट्रिय बाग्लुङ्ग समाजको गत सेप्टेम्बरमा सम्पन्न कार्यसमिति बैठकले विभिन्न क्षेत्रमा क्षेत्रीय भेला गर्ने निर्णय गरेको थियो ।
त्यस्तै बाग्लुङ्ग समाज अमेरिकाको फेब्रुअरी २१ मा बसेको बैठकले अमेरिकाको नर्थ क्यारोलिनामा क्षेत्रीय भेला र कार्यसमितिको भौतिक बैठक गर्ने निर्णय गरेको थियो।
भेलाको लागी अमेरिका क्षेत्रबाट अन्तर्राष्ट्रिय बाग्लुङ्ग समाजमा उपाध्यक्ष कुल शर्माको संयोजकत्वमा नर्थ अमेरिका क्षेत्रबाट अन्तर्राष्ट्रिय बाग्लुङ्ग समाजमा सल्लाहकार तथा अन्य सदस्य रहने गरि एक समिति गठन गरिएको छ ।
समितिको सदस्य सचिवमा अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक मिन खड्का रहेका छन्। त्यस्तै सदस्यहरूमा अन्तर्राष्ट्रिय बाग्लुङ्ग समाजका पूर्व संरक्षक एवं सल्लाहकार दुर्गा अधिकारी(क्यानडा) सल्लाहकार भुमिश्वर सापकोटा (अमेरिका) भवि न्यौपाने (क्यानडा) डा गंगाधर आचार्य (अमेरिका) अनुसुया श्रेष्ठ(अमेरिका) विपिन श्रेष्ठ(अमेरिका) देवीका के सी(क्यानडा) लगायत रहेका छन्।
त्यस्तै कार्यक्रम सफल पार्न आयोजक समितिमा एटलान्टाबाट समाजसेवी भविन्द्र बस्नेत, बाग्लुङ्ग समाज बाल्टिमोरका निवर्तमान अध्यक्ष निर थापा, नर्थ क्यालिफोर्निया क्षेत्रबाट एकदेव शर्मा नेब्रास्काबाट कृष्ण कँडेल, ब्राम्टन क्यानडाबाट गिरी बुढाथोकी र नर्थक्यारोलिना च्याप्टरका अध्यक्ष राम थापा र क्यानडाको क्यालगारीबाट रामेश्वर सापकोटा रहेका छन्।
आवश्यकता अनुसार अन्य सदस्यहरू थप गर्दै जाने संयोजक कुल शर्माले जानकारी दिए।
निर्धारित कार्यक्रम अनुसार अप्रिल ४ मा अन्तर्राष्ट्रिय बाग्लुङ्ग समाजको पहिलो अमेरिका स्तरीय क्षेत्रीय भेला हुने छ। त्यसै दिन साँझ पञ्चेबाजा तथा स्थानिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ ।
कार्यक्रम अमेरिका क्यानडाका बाग्लुङ्ग समाजहरू सँगको सहकार्यमा सम्पन्न गरिने पनि संयोजक शर्माले जानकारी दिए ।
अप्रिल ५ तारेख आइतबारका दिन बाग्लुङ्ग समाज अमेरिकाले भौतिक बैठकको आयोजना गरिने बाग्लुङ्ग समाज अमेरिकाका अध्यक्ष गौरिश्वर शर्माले बताए ।
सोही दिन नर्थ क्यारोलिना च्याप्टरको आयोजनामा नेपाली नयाँ वर्ष तथा चैते दशैको उपलक्षमा पञ्चेबाजा सहित वनभोज र अन्य आकर्षक कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।















