एमालेको घोषणापत्र : स्वास्थ्य सेवालाई निःशुल्क, विश्वसनीय र सर्वव्यापी बनाउने घोषणा
काठमाडौं । नेकपा एमालेले सबै तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा आवश्यक जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
बिहीबार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, विश्वसनीय तथा सबै नागरिकको पहुँचमा पुग्ने बनाउने प्रतिबद्धता जनाएको हो ।
त्यस्तै स्वास्थ्य बिमामा देखिएका वित्तीय तथा व्यवस्थापकीय समस्याहरू समाधान गरी नागरिकलाई सहज स्वास्थ्य सेवा सुनिश्चित गर्ने ,आधारभूत स्वास्थ्य सेवालाई प्रमाणमा आधारित प्राथमिक करण गरी निःशुल्क, विश्वसनीय र सर्वव्यापी बनाउने घोषणा गरेको पनि गरेको छ ।
स्वास्थ्य प्रणालीमा रहेको दोहोरो वित्तीय बोझ, सेवा उत्पादन–खरिदको अन्योल तथा बीमा र निःशुल्क सेवाबिचको दोहोरोपन हटाउन स्वास्थ्य बीमा प्रणाली र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरूलाई क्रमशः एकीकृत गर्ने योजना रहेको एमालेले जनाएको छ ।
परम्परागत तथा वैकल्पिक चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सासँग एकीकृत गर्ने ,योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, आम्ची र होमियोप्याथीलगायतलाई मुख्य धारामा ल्याइने ,आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकताको प्रयोग गरी स्वास्थ्य प्रणालीलाई अत्याधुनिक बनाउने, स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने तथा सरकारी, निजी र सामुदायिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ ।















