देशको नेतृत्व लिएर कुशासन हटाउने सभापति थापाको प्रतिज्ञा
जनकपुर / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले देशको नेतृत्व लिएर कुशासन हटाउने प्रतिज्ञा गरेका छन् ।
जनकपुरको तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै थापाले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको बताए । उनले कुरा हैन काम काम गर्न आएको प्रतिबद्धता जनाएका छन् ।
सभापति थापाले भने, ‘मधेशबाट कांग्रेसले देश बदल्ने साहस लिएको छ । आट लिएको छ। अब मधेशले देशको सङ्घीयतालाई कार्यान्वयन गराउन जरुरी छ ।’ उनले मधेशले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परिवर्तन गर्नु पर्ने बताए। उनले मधेशलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेश झरेको बताए ।
उनले भने, ‘मधेशको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो । पहाडमा मधेशका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ । तर आज मधेशको शिक्षा, स्वास्थ्य र विकासको अवस्था जर्जर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावरणको अवस्था भयावह छ। खानेपानीको समस्या समाधान गर्न म मधेश आएको हुँ ।’
उनले मधेशले सिंगो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गरेको बताए। उनले मधेशका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने बताए । उनले भने, ‘अब मधेश वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ ।’

थापाले मधेशको वित्तीय संरचना खलबलिएकोले यहाँका सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेश आएको बताए । ‘यहाँको वित्तीय संस्था खलबलिएको छ’, उनले भने, ‘सहकारी ठगहरूको बिगबिगी बढेको छ । सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेश झरेको छु ।’
सभापति थापाले मधेशका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकोले यहाँ क्रिकेट एकेडेमी बनाउने रहेको समेत बताएका छन् । उनले भने, ‘मैले यहाँका युवाहरूको क्रिकेटको सपना पुरा गर्न चाहन्छु ।’ उनले आफू मधेशको बेटा बन्न आएको भन्दै दुर्गानन्दको साहस, कुशेश्वरको रगतको सम्मान र महेन्द्रनिधिको जीवनशैली रहेकोले यहाँ आफू मधेशमा आएको बताए ।
कांग्रेस पखालिएर जनविश्वास लिन मधेश आएको सभापति थापाले बताए । ‘अब हामी मत मात्रै होइन विश्वास र भरोसा लिन आएका छौँ । देशलाई सँगसँगै हिँडाउन र परिवर्तन देख्न आएको हुँ । म सबै युवाहरूको सपना पूरा गर्न र युवाहरूको साझा पार्टी बनाउन आएको हुँ ।’
















