निसाङ्काको शतकसँगै श्रीलङ्का सुपर ८ मा प्रवेश, अस्ट्रेलिया बाहिरिने सङ्घारमा
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अस्ट्रेलियाको टी–२० विश्वकप क्रिकेटको सुपर ८ चरणमा पुग्ने आशा लगभग समाप्त भएको छ।
पल्लेकेलेमा श्रीलङ्काका पाथुम निसाङ्काले अविजित शतक प्रहार गर्दै अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेपछि अस्ट्रेलियाको यात्रा कठिन बनेको हो।
शुक्रबार जिम्बावेविरुद्ध स्तब्ध पराजय भोगेको अस्ट्रेलियालाई आफ्नो क्वालिफिकेसन सम्भावना जोगाउन जित अनिवार्य थियो। यस जितसँगै श्रीलङ्का सुपर ८ चरणमा प्रवेश गरेको छ।
अब समूहको दोस्रो स्थानबाट अघि बढ्न अस्ट्रेलियाले जिम्बावेले आयरल्यान्ड र श्रीलङ्काविरुद्धका बाँकी दुवै खेल हार्नुपर्नेछ। त्यसपछि अस्ट्रेलियाले ओमानलाई हराएमा मात्र नेट रन रेटको आधारमा सम्भावना कायम रहनेछ।
अस्ट्रेलियाको हारको प्रमुख कारण राम्रो सुरुआतलाई ठुलो स्कोरमा परिणत गर्न नसक्नु रहेको थियो । ओपनर ट्राभिस हेड र कप्तान मिचेल मार्शले उत्कृष्ट सुरुआत दिलाए पनि मध्य क्रम ध्वस्त हुँदा टोली १ सय ८१ रनमै समेटियो र श्रीलङ्कासामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गर्यो।
चोटग्रस्त प्याट कमिन्स, जोस हेजलवुड र मिचेल स्टार्कको अनुपस्थितिमा अस्ट्रेलियाली बलिङ आक्रमण कमजोर देखियो। त्यसको पूरा फाइदा उठाउँदै श्रीलङ्काका निसाङ्का र कुसल मेन्डिसले सानदार साझेदारी गरे।
विकेटकिपर मेन्डिसले ३८ बलमा संयमित ५१ रन बनाए भने निसाङ्काले ५२ बलमा शतक पूरा गर्दै टोलीलाई सहज जित दिलाए। उनको पारी शक्ति र कौशलको उत्कृष्ट संयोजन थियो।
ग्रोइन चोटबाट फर्किएका कप्तान मार्शले हेडसँग मिलेर ८ दशमलव २ ओभरमै १ सय ४ रनको ओपनिङ साझेदारी गरेका थिए । हेडले २७ बलमा अर्धशतक प्रहार गर्दै ५९ रन बनाए। तर त्यसपछि अस्ट्रेलियाको इनिङ्स ओरालो लाग्यो।
मार्श ५४ रन बनाएर आउट भएपछि अस्ट्रेलियाले अन्तिम १४ बलमा सात रन जोड्दै अन्तिम पाँच विकेट गुमाउँदै १ सय ८१ रनमा अलआउट भएको थियो ।
श्रीलङ्काले लक्ष्य सहजै पछ्याएपछि अस्ट्रेलिया अब अत्यन्तै न्यून गणितीय सम्भावनामा निर्भर छ । अब मंगलबार जिम्बावे र आयरल्यान्डबीच हुने खेललाई चिन्तित नजरले हेर्नेछ। समूह ‘बी’ मा रहेको श्रीलङ्काले ३ खेलबाट कुल ६ अंक जोड्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । जिम्बाब्वे ४ अङ्कका साथ दोस्रो स्थानमा छ ।

















