चीनलाबाट ल्याइएका तीन लाख डलर भन्दा धेरै नक्कली ब्याग पिट्सबर्गमा बरामद
पिट्सबर्ग, पेन्सिल्भेनिया / यूएस कस्टम एण्ड बोर्डर प्रोटेक्शन (सीबीपी ) का अधिकारीहरूले पेन्सिल्भेनिया पिट्सबर्गमा चीनबाट आएको करिब ३ लाख ७ हजार ८७० अमेरिकी डलर मूल्य बराबरका नक्कली डिजाइनर ब्रान्डका ह्यान्डब्याग, गहना र स्कार्फ बरामद गरेका छन्।
सीबीपी का अनुसार जनवरी २९ मा पिट्सबर्ग ठेगानामा पठाइएको एक पार्सल जाँचका क्रममा नक्कली सामान फेला परेको हो। उक्त पार्सल डिसेम्बर १ मा हवाई कार्गोमार्फत चीनबाट आएको थियो।
बरामद गरिएका सामग्रीमा पाँच वटा ह्यान्डब्याग, पाँच वटा स्कार्फ, तीन वटा ब्रेसलेट, तीन वटा नेकलेस र एक सेट झुम्का रहेका थिए। ती सामानमा च्यानल, क्रिस्चियन डायर, फेंडी, लुइस विटन र भ्यान क्लीफ र अर्पल्स जस्ता चर्चित ब्रान्डका नाम अंकित थिए।
सीबीपी अधिकारीहरूले ती सामग्री नक्कली भएको आशंकामा थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका थिए। पछि उपभोक्ता उत्पादन तथा व्यापार विशेषज्ञहरूसँग समन्वय गरी सम्बन्धित ट्रेडमार्क स्वामिहरूसँग प्रमाणीकरण गर्दा सामान नक्कली भएको पुष्टि भएको थियो।
पिट्सबर्ग पोर्टका निर्देशक जेसन ह्यामिल्टनले आजको विश्वव्यापी बजार नक्कली तथा अवैध सामान निर्यात गर्ने समूहहरूका लागि आकर्षक प्लेटफर्म बनेको उल्लेख गर्दै अमेरिकी उपभोक्ता र व्यवसायको सुरक्षाका लागि सीबीपी दृढतापूर्वक काम गरिरहेको बताए।
नक्कली उपभोक्ता सामानको व्यापार गैरकानुनी हो। यसले उपभोक्ताको स्वास्थ्य र सुरक्षामा खतरा पुर्याउने, ब्रान्ड स्वामिहरूलाई राजस्व नोक्सानी गर्ने तथा सरकारलाई कर घाटा पुर्याउने गर्दछ। यस्ता अवैध कारोबारले अन्तर्राष्ट्रिय आपराधिक सञ्जाललाई समेत सहयोग पुग्ने सीबीपीले जनाएको छ।
सीबीपीका अनुसार आर्थिक वर्ष २०२५ मा मात्रै ७ करोड ८० लाखभन्दा बढी नक्कली सामान बरामद गरिएको थियो, जसको अनुमानित खुद्रा मूल्य ७.३ अर्ब डलरभन्दा बढी हुने बताइएको छ।

















