संघीय गृह प्रशासनद्वारा क्यालिफोर्निया गभर्नरलाई ३३ हजारभन्दा बढी आपराधिक अवैध आप्रवासी रिहा नगर्न चेतावानी
वाशिङ्टन / अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) र अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइस) ले क्यालिफोर्निया राज्यको ‘सान्क्चुरी नीति’ ले सार्वजनिक सुरक्षामा गम्भीर जोखिम सिर्जना गरेको ठहर गर्दै गभर्नर ग्याभिन न्युसम र राज्य प्रशासनलाई कडा चेतावनी दिएका छन्।
आइसका कार्यवाहक निर्देशक टोड लायन्सले क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टालाई पत्र पठाउँदै राज्यको हिरासतमा रहेका ३३ हजार एक सय ७९ जना आपराधिक अवैध आप्रवासीलाई जेलबाट रिहा नगरी आइसका डिटेनर सेन्टरमा बुझाउन आग्रह गरेका छन्।
आइसका अनुसार हाल क्यालिफोर्नियाका विभिन्न जेल र हिरासत केन्द्रमा रहेका यी आप्रवासीहरू तीन सय ९९ हत्या, ३३ सय १३ आक्रमण, ३१ सय ७१ चोरी, एक हजार ११ डकैती, ८३ सय ८० लागुऔषधसम्बन्धी अपराध, १९ सय ८४ हतियार अपराध र १२ सय ९३ यौन हिंसासम्बन्धी अपराधमा संलग्न रहेका छन्।
जनवरी २० पछि ४५ सय ६१ आपराधिक आप्रवासी रिहा
डीएसएसका अनुसार क्यालिफोर्नियाले आइस डिटेनर नमान्दा जनवरी २० यता ४५ सय ६१ जना आपराधिक अवैध आप्रवासी जेलबाट रिहा भइसकेका छन्। तीमध्ये ३१ हत्या, ६ सय ६१ आक्रमण, पाँच सय ७४ चोरी, एक सय ८४ डकैती, १४ सय ८९ लागुऔषध अपराध, तीन सय ७९ हतियार अपराध र दुई सय ३४ यौन अपराधमा संलग्न रहेका थिए।
डीएचएसकी सहायक सचिव ट्रिसिया म्याकलफलिनले कडा शब्दमा प्रतिक्रिया दिँदै भनिन्,
“गभर्नर न्युसम र क्यालिफोर्नियाका सान्क्चुरी राजनीतिज्ञहरूले हत्या, बाल यौन अपराध र लागुऔषध तस्करीमा संलग्न व्यक्तिहरूलाई पुनः समुदायमा छोडेर अमेरिकी नागरिकको ज्यान जोखिममा पारिरहेका छन्। यो सामान्य बुद्धिको कुरा हो—आपराधिक अवैध आप्रवासीहरू जेलबाट सिधै सडकमा छोडिनु हुँदैन।”
उनका अनुसार अमेरिकाका १० सुरक्षित सहरमध्ये ७ सहर आइस सँग सहकार्य गर्ने सहरहरू हुन्।
रिहा गरिएका केही गम्भीर अपराधीहरूको सूची
आइसले सार्वजनिक गरेको विवरणअनुसार क्यालिफोर्नियाबाट रिहा गरिएका आपराधिक आप्रवासीहरूमध्ये बाल यौन अपराधी, हत्या अभियुक्त, गिरोहका सदस्य, घरेलु हिंसा, लागुऔषध तस्करी तथा हतियार अपराधमा संलग्न व्यक्तिहरू छन्। आइस डिटेनर अस्वीकार गरिएकै कारण ती व्यक्ति पुनः समुदायमा पुगेको र पछि संघीय अधिकारीहरूले पुनः पक्राउ गर्नुपरेको डीएचएसको भनाइ छ।
कानुनी आधारसमेत प्रस्तुत
आइस निर्देशक लायन्सले पत्रमा संघीय अदालतका फैसलाहरू उद्धृत गर्दै अन्तिम निष्कासन आदेश भएका आप्रवासीमाथि प्रशासनिक वारेन्ट प्रयोग गर्नु संवैधानिक र कानुनी रूपमा उचित रहेको दाबी गरेका छन्।
उनका अनुसार संघीय अधिकारीहरूले प्रशासनिक वारेन्टका आधारमा यस्ता आप्रवासीलाई पक्राउ गर्न सक्ने स्पष्ट कानुनी अधिकार छ।
पत्रको अन्त्यमा लायन्सले लेखेका छन्,
“सार्वजनिक सुरक्षाप्रति गम्भीर कुनै पनि समुदायले कानुनको यस्तो स्पष्ट उल्लङ्घन सहन सक्दैन। आइस र अमेरिकी जनताले क्यालिफोर्नियासँग फेरि माग गर्छन्—सबैभन्दा खतरनाक आपराधिक आप्रवासीलाई सडकबाट हटाउन आइस डिटेनर सम्मान गरियोस्।”

















