कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो : डा. कोइराला
विराटनगर । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने रहेको बताएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ का जनताहरूसँग कुराकानी गर्दै उनले अरू नयाँ पार्टीहरूले जे काम गरे पनि नेपाली काङ्ग्रेसले जेनजीका माग अनुसार भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकास गर्ने कामहरु गरेको बताए ।
उनले भने, ‘नेपाली काङ्ग्रेसको एजेण्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने हो । जेनजीहरुको माग पनि यही रहेको छ । अरू नयाँ पार्टीहरूले के गरिरहेको थाहा छैन् तर चुनावमा मात्रै होइन ०६४ सालको चुनावदेखि एउटै कुरा भनिरहेको छु । भ्रष्टाचारमुक्त समाज हामी बनाऊ, सुशासन दिउ, विकास गरौँ, रोजगारीका अवसरहरू सिर्जना गरौँ ।’
यस्तै, उनले नेपाली काङ्ग्रेसले युवाहरूको महत्त्व बुझेको भन्दै युवाहरूलाई निर्वाचनमा प्रोत्साहन गरिरहेको बताए ।
उनले भने, ‘युवाहरूलाई लोकल चुनावमा प्रोत्साहित दिनुपर्छ, ४० प्रतिशत युवाहरूलाई स्थान दिनुपर्छ भनिरहेको छु । प्रदेशको चुनावमा ३० प्रतिशतलाई दिनुपर्छ भनेको छु र केन्द्रमा अथवा संघीय चुनावमा २० प्रतिशत युवाहरूलाई दिनुपर्छ भनिरहेको छु । युवाहरूको महत्त्व नेपाली काङ्ग्रेसले नबुझेको होइन, बुझेको छ ।’
















