पाणिनीय व्याकरणको प्रभावबारे विशेष प्रवचन कार्यक्रम सम्पन्न
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समिति अमेरिकाको आयोजनामा “नेपाली भाषा, साहित्य र संस्कृतिमा पाणिनीय व्याकरणको प्रभाव” विषयक विशेष प्रवचन कार्यक्रम जनवरी ३१, २०२६ (नेपाली समय अनुसार माघ १८ गते बिहान) जुममार्फत सम्पन्न भएको छ।
अमेरिका र नेपालबाट करिब ५० जना भाषा–साहित्यका अध्येता, शिक्षक, विद्यार्थी तथा संस्कृत प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम बौद्धिक रूपमा अत्यन्तै समृद्ध र ज्ञान वर्द्धक बनेको थियो।
कार्यक्रमका प्रमुख वक्ता प्राध्यापक डा. नवराज कट्टेलले पाणिनीय व्याकरणको ऐतिहासिक पृष्ठभूमि, यसको वैज्ञानिक आधार र नेपाली भाषाको विकास क्रममा यसले खेलेको निर्णायक भूमिकाबारे गहन तथा तथ्यपरक प्रवचन प्रस्तुत गरेका थिए।
उनले शब्द–निर्माण,वाक्य–संरचना, धातु–प्रक्रिया, भाषिक शुद्धता तथा साहित्यिक अभिव्यक्तिमा पाणिनीय व्याकरणको प्रभाव उदाहरणसहित स्पष्ट पार्दै यसले नेपाली भाषालाई व्यवस्थित र समृद्ध बनाएको धारणा राखेका थिए ।
कार्यक्रममा प्रा. पीताम्बर दाहाल र आचार्य मेघराज निरौलाले टिप्पणी प्रस्तुत गर्दै पाणिनीय व्याकरणको शैक्षिक, भाषिक र सांस्कृतिक महत्वमाथि थप प्रकाश पारेका थिए।
उनीहरूले संस्कृत व्याकरणको गहिरो अध्ययन बिना नेपाली भाषाको मौलिकता र सौन्दर्य पूर्ण रूपमा बुझ्न नसकिने उल्लेख गर्दै यसको संरक्षण र निरन्तर अध्ययन आवश्यक रहेको बताए ।
संस्थाका संयोजक आचार्य पीपलमणि सिग्देलले कार्यक्रम समापन गर्दै पाणिनीय व्याकरण नेपाली भाषाको आधार स्तम्भ रहेको बताए। साथै कार्यक्रममा सहभागिता जनाउने सबैलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा संस्थाका संरक्षक नेत्रबन्धु पोख्रेलले कार्यक्रमको खाका प्रस्तुत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव डा. लेखनाथ अधिकारीले गरेका थिए।
कार्यक्रममा युएनएफपिएमा कार्यरत गणेश शाही, एनआरएन अमेरिकाका निवर्तमान सभापति डा अर्जुन बन्जाडे, एनआरएन आइसिसीका कृष्ण पोख्रेल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधान अध्यापक पुष्कर राज पोखरेल, पाणिनि मन्दिर पाणिनि तपो भूमिका पुजारी नवहरि पोखरेल लगायत समाजसेवीहरू र संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले यस्ता बौद्धिक तथा अनुसन्धानमुखी कार्यक्रमहरूले भाषा, साहित्य र संस्कृतिप्रति नयाँ पुस्तामा चेतना र रुचि बढाउने विश्वास व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा भरखर आजीवन सदस्यको लागि प्रकृया अगाडी बढाएका व्यक्तित्वहरू बासुदेव घिमिरे (क्यालिफोर्निया), दिनेश भट्टराई( क्यालिफोर्निया), टिपी खनाल( वासिङ्टन सियाटल), चक्रपाणि खनाल( क्यालिफोर्निया), नामलाल श्रेष्ठ( न्यु योर्क), डा अर्जुन बन्जाडे (मेरिल्याण्ड ), बालकृष्ण श्रेष्ठ( नर्थ क्यारोलाइना), चन्द्रमणि पौडेल( क्यालिफोर्निया ) लाई स्वागत पनि गरिएको थियो ।

















