स्टन्ट गरेर प्रणाली सुधार हुँदैनः गगन थापा
काठमाडौ / नेपाली कांग्रेसका सभापति गगन थापाले प्रणालीमा सुधार गर्न सही कानुन बनाउनुपर्ने बताएका छन्।
शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले स्टन्ट गरेर सुधार गर्न नसकिने बताए।
उनले सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन स्टन्ट र चटक देखाएर नभई सही कानून र प्रक्रिया निर्माण गरेर मात्र सम्भव हुने बताए ।
सभापति थापाले नेपाली कांग्रेस प्रणाली र प्रक्रियामार्फत सुधार गर्ने कुरामा विश्वास राख्ने पार्टी भएको उल्लेख गरे । थापाले विश्वविद्यालय तथा संवैधानिक निकायमा हुने भागबण्डाको अन्त्य गर्ने दाबी गरे।
निजामती कर्मचारीमा हुने राजनीतिकरणको पनि बन्द गर्ने उनको भनाई छ ।
‘हाम्रा सार्वजानिक संस्थाहरुबाट, निकायहरुबाट हुने कारोबारमा कुनै पनि आर्थिक लेनदेन नहोस् भन्ने कुरा हामी सबैले चाहेका छौँ नी । तर त्यसको परिणाम आउनको निम्ति जादु गर्छु, चटक गर्छ, डण्डा बोकेर जान्छु, म स्टन्ट देखाउँछु भनेर हुँदैन । सिष्टम बनाउनुपर्नेछ ।’ थापाले भने ।
सभापति थापाले कांग्रेस सिस्टम बनाउने कुरामा विश्वास गर्ने बताए ।
‘ठीक कानुनहरु बनाउनुपर्नेछ, प्रक्रियाहरु बनाउनुपर्नेछ । कांग्रेस यो सिष्टम बनाउने कुरामा विश्वास गर्छ, प्रक्रियाहरु बनाउने कुरामा विश्वास गर्छ । हामी यहाँबाट परिणाम दिन चाहन्छौँ । हामी सबै ठाउँमा जहाँ पार्टीले हस्तक्षेप गरेको छ, चाहे विश्वविद्यालयमा भागवण्डा गरेको होस्, चाहे संवैधानिक निकायमा भागबण्डा गरेको होस् । चाहे निजामति कर्मचारीको राजनितिककरण गरेको होस् । हामी सबै कुराहरु बन्द गर्छौ । यो कांग्रेसको संकल्प हो ।’
उनले सुधार र सुशासनमार्फत परिणाम दिन काँग्रेस प्रतिबद्ध रहेको पनि बताए । थापाले सुधारको लागी आफूहरुले योजना बनाएको पनि जानकारी दिए ।
– न्युज एजेन्सी नेपाल

















