पेन्सिल्भेनिया ल्यानक्यास्टरमा नेपाली गीत–साहित्यका सात स्रष्टालाई सम्मान गरिँदै
अर्जुन प्रधान/
अमेरिका / अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आइएनएलए ) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९ तारिखमा अमेरिकाको पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा आयोजना गर्ने भएको छ।
संघका संस्थापक अध्यक्ष डा. हरि उप्रेतीका अनुसार सम्मेलन नेपाली गीत–संगीत, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राख्दै आयोजना हुन लागेको हो।
उनले सम्मेलनले विश्वभर छरिएर रहेका नेपाली सर्जकहरूलाई एउटै साझा मञ्चमा जोड्ने विश्वास व्यक्त गरे। संघका महासचिव रन खड्काका अनुसार सम्मेलन स्थानीय साहित्यिक संस्था ‘साहित्य कला संगम’ को संयोजनमा कार्यक्रम आयोजना हुनेछ।
सम्मेलनको प्रमुख आकर्षणका रूपमा गीत–संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सात जना स्रष्टालाई विशेष सम्मान प्रदान गरिनेछ।
सम्मानित हुने स्रष्टाहरूमा दिनेश अधिकारीलाई आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान प्रदान गरिनेछ। नेपालतर्फबाट पुरु लम्साललाई गीतकार सम्मान, तृप्ति खड्कालाई संगीत सम्मान र यशोदा पराजुलीलाई गायन सम्मान प्रदान गरिनेछ।
त्यसै गरी, डायसपोरा श्रेणी अन्तर्गत अमेरिकाबाट सबु गदाल कार्कीलाई डायसपोरा गीतकार सम्मान, डम्बर खापुङ सुब्बालाई डायसपोरा गायन सम्मान तथा अगम गुरुङलाई डायसपोरा लोक संगीत सम्मान प्रदान गरिने संघले जनाएको छ।
सम्मेलनमा विभिन्न सत्र, साङ्गीतिक प्रस्तुति, साहित्यिक संवाद तथा स्रष्टाबिच अनुभव आदान–प्रदानका कार्यक्रमहरू समावेश गरिनेछन्।
अध्यक्ष डा. उप्रेतीका अनुसार संघको मुख्य उद्देश्य विश्वभर रहेका नेपाली गीतकार, सङ्गीतकार तथा साहित्यिक सर्जकहरूलाई एउटै मञ्चमा समेट्नु, नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्नु तथा मौलिक सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो।
यसअघि आप्रवासी गीतकार नेपाली संघको नामबाट गतिविधि सञ्चालन गर्दै आएको संस्थाले सन् २०२६ देखि कानुनी रूपमा “अन्तर्राष्ट्रिय नेपाली गीतकार संघका रूपमा दर्ता भई आफ्ना कार्यक्रमहरू अघि बढाएको अध्यक्ष उप्रेतीले जानकारी दिए। कोष संकलन र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले संगठनलाई आर्थिक रूपमा दिगो बनाउने लक्ष्य रहेको बताए।
“आइएनएलएले ५०१ (सी) (३) सार्वजनिक परोपकारी संस्थाका रूपमा मान्यता पाउनु ठूलो उपलब्धि हो। यसले पारदर्शी र प्रभावकारी रूपमा समुदायका लागि काम गर्न सहज बनाएको छ,” डा. उप्रेतीले भने।
















