बाल्टिमोरमा चिनियाँ जहाजका क्याप्टेनबाट ७० हजार डलरभन्दा बढी अवैध नगद जफत
बाल्टिमोर,मेरिल्याण्ड / अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) अधिकारीहरूले बाल्टिमोर बन्दरगाहमा एक चिनियाँ मालवाहक जहाजका क्याप्टेनबाट ठूलो मात्रामा अवैध नगद जफत गरेको जनाएका छन्।
सीबीपीद्वारा शुक्रवार जारी विज्ञप्तिमा ७० हजार सात सय ३७ अमेरिकी डलर बराबरको अवैध रूपमा जफत गरिएको जनाइएको छ।
जनवरी २२ मा बाल्टिमोर आइपुगेको जहाजमा नियमित सुरक्षा जाँचका क्रममा उक्त रकम फेला विज्ञप्तिमा जनाइएको छ। जहाजमा चीनको झण्डा फहराएको भनिएको छ।
सीबीपीको नियमअनुसार, कुनै पनि जहाजले अमेरिकी बन्दरगाहमा प्रवेश गर्दा जहाजमा रहेको १० हजार डलरभन्दा बढीको नगद अनिवार्य रूपमा घोषणा गर्नुपर्ने हुन्छ। तर जहाजका क्याप्टेनले बाल्टिमोरमा गरिएको निरीक्षणका क्रममा कुनै पनि नगद रकम घोषणा नगरेको सीबीपीले जनाएको छ।
सीबीपी अधिकारीहरूले जाँच अघि जानकारी पाएका थिए कि क्याप्टेनले यसअघि मेन राज्यको सियर्सपोर्ट बन्दरगाहमा जहाज रोकिँदा ३४,४८० डलरको भएको घोषणा गरेका थिए ।
तर पछि अनुसन्धान गर्दा जहाज एजेन्टले मेनमै थप ४० हजार डलर क्याप्टेनलाई दिएको खुलेको छ।
बाल्टिमोर फिल्ड अफिसका कार्यवाहक निर्देशक म्याथ्यु स्वारेजले यस्तो घटना गम्भीर र चिन्ताजनक भएको बताएका छन्।
“व्यावसायिक जहाजका क्याप्टेनले जानाजानी अमेरिकी कानुन उल्लङ्घन गर्नु दुर्लभ कुरा हो। तर विरोधी राष्ट्रका झण्डा र सञ्चालनमा रहेका जहाजबाट यस्तो गतिविधि हुनु गम्भीर र चिन्ताजनक छ।” सीबीपीको विज्ञप्तिमा म्याथ्युको भनाई उद्धृत गरिएको छ।
सीबीपीका अनुसार, अमेरिका प्रवेश वा प्रस्थान गर्ने जो–कोहीले जति पनि नगद बोकेर हिँड्न पाउँछन्, तर १० हजार डलरभन्दा बढी भएमा अनिवार्य रूपमा घोषणा गर्नु पर्ने हुन्छ।

















