सरकारी सहायता दुरुपयोग नगर्न अमेरिकास्थित नेपाली दूतावासको अपिल, भिसा/ग्रिनकार्ड रद्द हुनसक्ने चेतावनी
वाशिङ्टन डीसी / अमेरिकास्थित नेपाली दूतावासले अमेरिकामा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सरकारकी सुविधा दुरुपयोग नगर्न अपिल गरेको छ।
दूतावासले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै सरकारी सहायता दुरुपयोगले भिसा र ग्रिनकार्ड रद्द हुन सक्ने चेतावनी समेत दिएको छ।
दूतावासका अनुसार अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय वा परिवार तथा आफन्त भेटघाटका लागि अमेरिका पुगेका विदेशी नागरिकले अवैधानिक तवरले वा गलत सूचना तथा विवरण पेश गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने सहुलियतपूर्ण सेवा तथा सहायता लिएको पाइएमा त्यसको प्रत्यक्ष असर भिसा वा ग्रिनकार्ड स्टाटसमा पर्ने र रद्द समेत हुनसक्ने जानकारी अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ।
सूचनामा उल्लेख भएअनुसार सहुलियतपूर्ण स्वास्थ्य उपचार, आवास सुविधा, परिवार सहायता तथा शैक्षिक सहायता जस्ता सरकारी कार्यक्रमहरूमा अवैध रूपमा निर्भर भएको पुष्टि भएमा सम्बन्धित व्यक्तिमाथि कडा कारबाही हुने अमेरिकी सरकारको स्पष्ट नीति रहेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार सन् २०२४ मा अमेरिका पुगेका नेपाली नागरिकहरूमध्ये उल्लेख्य संख्यामा सरकारी सहुलियतपूर्ण सेवाहरू लिनेहरू उच्च सूचीमा परेपछि नेपालका लागि आप्रवासी भिसा बन्द गरिएको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको छ।
यसैगरी बी१/बी२ (पर्यटन/व्यवसाय) भिसामा अमेरिका गएका नेपालीहरूले ओभरस्टे गरेको तथा रोजगारीजस्ता तोकिएको उद्देश्यभन्दा फरक गतिविधिमा संलग्न भएको पाइएपछि अमेरिकी सरकारले कडा नीति अपनाएको दूतावासले जनाएको छ। सोहीअनुसार २१ जनवरी २०२६ देखि लागू हुने गरी बी१/बी२ भिसा आवेदनमा अमेरिकी डलर ५,००० देखि १५,००० सम्म धरौटी राख्नुपर्ने प्रावधान लागू गरिएको छ।
दूतावासले यस्ता गतिविधिले नेपालप्रति अमेरिकी सरकारको भिसा नीति थप कडाइ हुनसक्ने, भविष्यमा अमेरिका जान चाहने नेपाली नागरिकका लागि भिसा प्राप्ति अझ कठिन हुने तथा देशको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर नकारात्मक असर पर्ने चेतावनी दिएको छ।
दूतावासले विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अमेरिकामा रहँदा गैरकानूनी तवरले वा गलत सूचना तथा विवरण पेश गरी कुनै पनि प्रकारका सहुलियतपूर्ण स्वास्थ्य, आवास, परिवार वा शैक्षिक सहायता नलिन तथा बी१/बी२ भिसाको दुरुपयोग नगर्न हार्दिक अनुरोध गरेको छ।

















