मध्य र पूर्वी अमेरिकामा हिम आँधी : चिसो कायमै, दर्जनौँको मृत्यु
कार्लाल, पेन्सिलभेनिया / शक्तिशाली हिम आँधीका कारण अमेरिकाका १४ राज्यमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरू र सञ्चारमाध्यमका अनुसार मङ्गलवारसम्म मध्य र पूर्वी अमेरिकाको ठुलो भू–भाग हिउँ, बरफ र शून्यभन्दा तलको तापक्रमले प्रभावित बनेको हो ।
शुक्रवारदेखि विकसित हुन थालेको यो हिम आँधीले सप्ताहन्तभर व्यापक क्षेत्रमा भारी हिमपात गराएको थियो । हिउँ र बरफका कारण सडक यातायात अवरुद्ध हुनुका साथै हजारौँ उडान रद्द भएका थिए ।
त्यस्तै ठुलो मात्रामा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । सोमवार आँधी कम भए पनि अत्यधिक चिसो भने अझै कायम रहने अनुमान गरिएको छ । मङ्गलवारसम्म देशभर पाँच लाख ५० हजारभन्दा बढी घरधुरी र व्यवसायमा बिजुली आपूर्ति बन्द रहेको बताइएको छ ।
चिसोका कारण जोखिममा परेका नागरिक, विशेष गरी बेघर व्यक्तिहरूको सुरक्षाका लागि विभिन्न सहरहरूले आपतकालीन उद्धारकर्मी र स्रोत साधन परिचालन गरेका थिए ।
न्युयोर्क सिटीमा मात्र १० जनाको मृत्यु भएको पुष्टि गरिएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा मेयर जोहरान माम्दानीले तापक्रम आठ वर्षयताकै न्यूनतम स्तरमा झरेर ८ डिग्री फरेनहाइट पुगेको जानकारी दिए । मृतकहरू सबै बाहिर फेला परे पनि उनीहरू बेघर थिए वा थिएनन् भन्ने स्पष्ट भइसकेको छैन ।
मेयर माम्दानीका अनुसार केही मृतकहरू विगतमा शहरको आश्रय प्रणालीसँग सम्पर्कमा आएका थिए ।
“मृत्युको ठोस कारणबारे अहिले नै निष्कर्ष निकाल्न चाँडो हुन्छ,” उनले भने ।
अत्यधिक चिसोका कारण न्युयोर्क सिटीले अमेरिकी आवास तथा सहरी विकास विभागले अनिवार्य गरेको वार्षिक बेघर जनगणना फेब्रुअरीको सुरुसम्मका लागि स्थगित गरेको छ ।
“उद्धारकर्मीहरू तथ्याङ्क सङ्कलनमा होइन, मानिसहरूलाई सुरक्षित स्थानमा ल्याउन केन्द्रित हुनुपर्छ,” माम्दानीले भने, “अत्यधिक मौसम व्यक्तिगत असफलता होइन।”
उनका अनुसार जनवरी १९ यता करिब ४ हजारभन्दा बढी बेघर व्यक्तिमध्ये करिब ५सय जनालाई आश्रय स्थलमा राखिएको छ । गम्भीर स्वास्थ्य समस्या भएका ३ सय ५० जनामाथि प्रत्येक दुई घण्टामा निगरानी भइरहेको छ ।
टेनेसी राज्यको नासभिल सहरमा पनि अवस्था गम्भीर छ । करिब ६ लाख ८० हजार जनसङ्ख्या भएको सहरमा अझै १ लाख ३५ हजारभन्दा बढी घरधुरी र व्यवसायमा विद्युत् आपूर्ति अवरुद्ध छ । बुधवार बिहानसम्म तापक्रम ६ डिग्री फरेनहाइटमा झर्नेे अनुमान गरिएको छ ।
“यो ऐतिहासिक हिम आँधी हो,” नासभिलका मेयर फ्रेडी ओ’कोनेलले मङ्गलवारको पत्रकार सम्मेलनमा भने ।
सहरका अधिकारीहरूका अनुसार करिब १४ सय बेघर व्यक्तिले सहरका तीनवटै आश्रयस्थल र दुई ओभरफ्लो केन्द्र भरिएका छन् । प्रहरी, दमकलकर्मी र आपतकालीन कर्मचारीहरू अतिरिक्त समय काम गर्दै सडक निगरानीमा खटिएका छन् ।
नासभिल रेस्क्यु मिसन नामक बेघर सहायता संस्थाले सामान्यतया प्रतिरात करिब ४ सय जनालाई सेवा दिँदै आएको भए पनि हाल चिसो बढेसँगै यो सङ्ख्या करिब ७ हजार पुगेको जनाएको छ ।
देशभर हिम आँधीसँग सम्बन्धित मृत्युका कारणहरू फरक–फरक रहेका छन् । कतै हाइपोथर्मिया र चिसोको असर, कतै हिउँ हटाउने क्रममा हृदयघात भएका घटनाहरू रिपोर्ट भएका छन् । टेक्सासको बोनहाम सहरमा सप्ताहन्तमा बरफ जमेको पोखरीमा खस्दा तीन बालकको मृत्यु भएको छ । त्यस्तै, अस्टिनमा परित्यक्त पेट्रोल पम्पमा शरण लिन खोज्दा एक व्यक्तिको हाइपोथर्मियाका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
कान्सास, केन्टकी, लुइजियाना, मिसिसिपी, साउथ क्यारोलाइना, टेनेसी र मिशिगनलगायत राज्यहरूबाट पनि चिसोका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
फेब्रुअरी १ सम्म कम्तीमा २० करोड अमेरिकी कुनै न कुनै प्रकारको शीत चेतावनी अन्तर्गत रहने अनुमान गरिएको छ। राष्ट्रिय मौसम सेवा अन्तर्गतको वेदर प्रेडिक्शन सेन्टरका मौसमविद् डेभिड रोथका अनुसार आउँदो सप्ताहन्तमा पूर्वी अमेरिकामा अर्को शीतकालीन आँधीको सम्भावनाबारे पनि पूर्वानुमानकर्ताहरूले निगरानी गरिरहेका छन् ।
















