अमेरिकामा भीषण शीतकालीन आँधी, लाखौँ प्रभावित
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको ठूलो भू–भाग आइतवार एक शक्तिशाली शीतकालीन आँधीको चपेटामा परेको छ। भारी हिमपात, वेगको हावाहुरी र कठोर चिसोका कारण देशका दक्षिणी, मध्य र उत्तरपूर्वी क्षेत्रहरूमा जनजीवन अस्तव्यस्त बनेको छ।
समाचार संस्था एपीका अनुसार, यो आँधी प्रणाली टेक्सासदेखि न्यूयोर्क र न्यू इंग्ल्यान्डसम्म फैलिएको छ। राष्ट्रिय मौषम सर्भिसले यसलाई “व्यापक र खतरनाक शीतकालीन मौसम प्रणाली” भन्दै करोडौँ नागरिक सतर्कता क्षेत्रमा परेको जनाएको छ।
सर्भिसका मौसमविद्हरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो प्रणालीले भारी हिमपात, आइस स्टोर्म र त्यसपछि अत्यन्त चिसो हावा ल्याउने भएकाले यात्रा र दैनिक जीवनमा गम्भीर जोखिम उत्पन्न गरेको छ।”
विद्युत र यातायातमा ठूलो असर
एपीका अनुसार, आँधीका कारण आठ लाखभन्दा बढी घर तथा व्यवसायमा विद्युत सेवा अवरुद्ध भएको छ। सबैभन्दा बढी असर टेनेसी, टेक्सास, लुइजियाना र मिसिसिपी जस्ता राज्यहरूमा देखिएको छ, जहाँ जमेको वर्षाले बिजुलीका तार र पोलहरू ढालेका छन्।
हवाई यातायात पनि गम्भीर रूपमा प्रभावित भएको छ। फ्लाइटअवेयरको तथ्यांक उद्धृत गर्दै एपीले जनाएअनुसार, आइतवार मात्रै १३ हजारभन्दा बढी उडान रद्द भएका छन् भने हजारौँ उडान ढिलो भएका छन्। टेक्सस डल्लास–फोर्ट वर्थ, पेन्सिल्भेनियाको फिलाडेल्फिया, न्यूयोर्क र बोस्टनका विमानस्थलहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
सडक यात्रा जोखिमपूर्ण
भारी हिमपात र आइस स्टोर्मका कारण इन्टरस्टेट हाइवे, पुल र स्थानीय सडकहरू अत्यन्त चिप्ला बनेका छन्। धेरै राज्य प्रशासनहरूले अत्यावश्यक बाहेकको यात्रा नगर्न नागरिकलाई आग्रह गरेका छन्।
सरकारी तयारी र चेतावनी
संघीय आपतकालीन व्यवस्थापन एजेन्सी र सम्बन्धित राज्य आपतकालीन निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ। केही राज्यका गभर्नरहरूले आपतकालीन अवस्था घोषणा गर्दै उद्धार, विद्युत पुनःस्थापना र आश्रय व्यवस्थापनमा संघीय सहयोग परिचालन गरेका छन्।
मौषम विभागले आगामी २४ देखि ४८ घण्टासम्म केही क्षेत्रमा थप हिमपात र आँधीपछि झन् चिसो तापक्रम रहने चेतावनी दिएको छ। मौसमविद्हरूका अनुसार, आँधीपछि आउने आर्कटिक हावाले अवस्था अझ जटिल बनाउन सक्छ।
आइतवार अमेरिकाले यस सिजनकै सबैभन्दा व्यापक शीतकालीन आँधीमध्ये एकको सामना गरिरहेको छ। विद्युत अवरुद्ध, उडान रद्द, सडक दुर्घटनाको जोखिम र कठोर चिसोका कारण जनजीवन प्रभावित भएको छ। सरकारी निकायहरूले नागरिकलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र मौसम सम्बन्धी आधिकारिक सूचनाहरू पालना गर्न आग्रह गरेका छन्।

















