पेन्सिल्भेनियाको ह्यारिसबर्गमा सरस्वती पूजा श्रद्धापूर्वक सम्पन्न
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा अवस्थित श्रीलक्ष्मी नारायण हरिहरधाम शनिबार सरस्वती पूजा श्रद्धा, भक्ति र सांस्कृतिक वातावरणका साथ सम्पन्न भएको छ।
अर्गनाइजेशन फर हिन्दु रिलिजन एण्ड कल्चर (ओएचआरसी) अन्तर्गत सञ्चालित नेपाली शिक्षा कार्यक्रमको आयोजनामा सम्पन्न पूजामा बालबालिका, अभिभावक तथा समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
हिन्दू धर्मअनुसार विद्या, बुद्धि, कला र वाणीकी देवी सरस्वतीको आराधना विशेषगरी विद्यार्थीहरूद्वारा ज्ञान, अनुशासन र सद्बुद्धिको कामनासहित गरिने परम्परा छ। वसन्त ऋतुको आगमनसँगै मनाइने सरस्वती पूजाले शिक्षा, संस्कार र सांस्कृतिक चेतनाको संरक्षणमा विशेष महत्त्व राख्दछ।
ओएचआरसीले विगत एक दशकभन्दा बढी समयदेखि नेपाली भाषा तथा संस्कृतिको प्रवर्द्धनका लागि नेपाली शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। ओएचआरसीका मिडिया संयोजक सिएम निरौलाका अनुसार हरेक शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कक्षा सञ्चालन हुँदै आएको छ, जसअन्तर्गत कक्षा ५ सम्मका विद्यार्थीलाई अध्ययन गराइँदै आएको छ।
पूजा कार्यक्रमको सञ्चालन रिसीका दाहाल र एन्जिला धिमालले गरेका थिए। कार्यक्रममा अनन्त विभूषित स्वामी श्री चक्रपाणीचार्यद्वारा स्वस्तिवाचन गरिएको थियो भने सरस्वती वन्दना आँचल न्यौपानेले प्रस्तुत गरेकी थिइन्। विधिपूर्वक पाठ, पूजा, अर्चना र वन्दनासहित देवी सरस्वतीको आराधना गरिएको थियो।
कार्यक्रममा ब्लुमिङ लोटस डान्स स्टुडियोका विद्यार्थीहरूले झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शकहरूको मन जितेका थिए।

नेपाली शिक्षा कार्यक्रमका शिक्षा निर्देशक महेन्द्र अधिकारीले शुभकामना सन्देश दिँदै प्रवासमा हुर्कँदै गरेका बालबालिकामा भाषा, धर्म र संस्कृतिप्रति चेतना जगाउन यस्ता कार्यक्रमको भूमिका महत्त्वपूर्ण हुने बताए।
त्यसै गरी ओएचआरसीका कार्यकारी निर्देशक डा. तुलाराम न्यौपानेले आगामी मे २२ तारिखदेखि भारतबाट आउने देवीका प्रतिभाद्वारा श्रीमुखबाट सात दिने भविष्य पुराण आयोजना गरिने जानकारी गराएका थिए।
पूजा कार्यक्रमको औपचारिक समापन ओएचआरसीका अध्यक्ष प्रेम खनालले गरेका थिए। उनले सरस्वती पूजाजस्ता धार्मिक तथा शैक्षिक कार्यक्रमले नेपाली समुदायलाई एकताबद्ध गर्दै भावी पुस्तामा संस्कार हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

















