अमेरिकामा भीषण हिमआँधीको चेतावनी, सर्तक रहन आग्रह
डिपार्टमेन्ट अफ होल्याण्ड सेक्युरेटीद्वारा विद्युत् अवरुद्ध, जोखिमपूर्ण यात्रा र अत्यधिक चिसोका लागि तयारी गर्न आग्रह
वाशिङ्टन / अमेरिकाका विभिन्न क्षेत्रमा यस सप्ताहन्त भीषण हिमआँधी आउने पूर्वानुमानसँगै अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) र संघीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) ले राज्य सरकारहरूसँग तयारी तीव्र बनाएका छन्।
सचिव क्रिस्टी नोएमले बिहीबार सम्भावित रूपमा प्रभावित राज्यका गभर्नर तथा आपतकालीन व्यवस्थापन निर्देशकहरूसँग बैठक गरी संघीय सरकारको तयारीबारे जानकारी गराएकी छन्।
नोएमका अनुसार आँधीका कारण देशका अधिकांश भागमा भारी हिमपात, खतरनाक हिमजम्ने वर्षा तथा ज्यानै जोखिममा पार्ने स्तरको चिसो हावा चल्ने सम्भावना छ। यसलाई मध्यनजर गर्दै फेमाले आफ्नो राष्ट्रिय प्रतिक्रिया समन्वय केन्द्र तथा क्षेत्रीय प्रतिक्रिया समन्वय केन्द्रहरू क्षेत्र १, २, ३, ४, ५ र ६ मा सक्रिय गरेको छ।
फेमाले राज्यस्तरीय आपतकालीन सञ्चालन केन्द्रहरूमा आफ्ना कर्मचारी खटाई संघीय र राज्यबीच वास्तविक समयमै समन्वय सुनिश्चित गरेको जनाएको छ।
यसका साथै लुइजियाना, टेक्सास र भर्जिनिया राज्यमा आपतकालीन घटना व्यवस्थापन टोली परिचालन गरिएको छ भने आवश्यक परे थप १२ टोली पठाउन तयारी अवस्थामा राखिएको छ। गभर्नरहरूको अनुरोधमा खटाउन सकिने २८ वटा सहरी खोज तथा उद्धार टोली पनि तयारी अवस्थामा छन्।
फेमाका अनुसार दक्षिण र पूर्वी क्षेत्रमा रहेका वितरण केन्द्रहरूमा ७० लाखभन्दा बढी तयारी खाना, २० लाख लिटरभन्दा बढी खानेपानी, ६ लाखभन्दा बढी कम्बल र ३०० भन्दा बढी विद्युत् जेनेरेटर भण्डारण गरिएको छ। केन्टकी, लुइजियाना र टेक्सासमा थप राहत सामग्रीसहित अस्थायी भण्डारण स्थल स्थापना गरिँदैछ।
सचिव नोएमले भनेकी छन्, “अब तयारी गर्ने समय हो।” उनले सर्वसाधारणलाई स्थानीय प्रशासनका निर्देशन पालना गर्न र सुरक्षाका आवश्यक कदम चाल्न आग्रह गरेकी छन्।
डिएचएस र फेमा को सुरक्षा सुझाव
राज्य तथा स्थानीय प्रशासनबाट जारी आपतकालीन सूचनाका लागि दर्ता गर्नुहोस्।
फेमा मोबाइल एप प्रयोग गरी मौसम र आपतकालीन सूचना प्राप्त गर्नुहोस्।
विद्युत् अवरुद्ध हुनसक्ने भएकाले तयारी अवस्थामा रहनुहोस्। फ्रिज र फ्रीजर बन्द नै राख्नुहोस्।
जेनेरेटर झ्याल, ढोका र ग्यारेजबाट कम्तीमा २० फिट टाढा राख्नुहोस्।
घरभित्र जेनेरेटर, ग्यास चुलो, मट्टीतेल वा प्रोपेन हीटर प्रयोग नगर्नुहोस्। यसले कार्बन मोनोअक्साइड विषाक्तता गराउन सक्छ।
आगलागी रोक्न आगो लाग्न सक्ने सामग्री ताप स्रोतबाट कम्तीमा तीन फिट टाढा राख्नुहोस्।
अत्यावश्यक नभए यात्रा स्थगित गर्नुहोस्। यात्रा गर्नैपरे स्थानीय मौसम र ट्राफिक अवस्था जाँच गर्नुहोस्।
गाडी चलाउँदा सवारीबीचको दूरी बढाउनुहोस् र पुल तथा ओभरपासमा विशेष सावधानी अपनाउनुहोस्।
अटो बीमा कम्पनी र टोइङ सेवाको सम्पर्क नम्बर सजिलै भेटिने ठाउँमा राख्नुहोस्।
केही दिन पुग्ने खानेपानी, सुक्खा खाना, न्यानो कपडा र कम्बलको व्यवस्था गर्नुहोस्।
शीतकालीन मौसमसम्बन्धी थप तयारीका लागि Ready.gov वेबसाइट हेर्न फेमा ले आग्रह गरेको छ।

















