कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार
सर्लाही / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अगामी निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ४ छोडेका छन्। थापाले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराएका छन् ।
सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गरेका हुन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह रहेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. अमरेशकुमार सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट डा. रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव र नेकपा (एमाले)बाट रविशङ्कर कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन्।
















