पार्टीलाई अतिवादले गाँजेको छ, म सत्यको बाटोमा छु : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यमार्गी बाटोबाट विचलित नहुने बताएका हुन् ।
उनले भने, ‘मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिँडिरहेको छु । यसबाट विचलित हुन्न ।’
पार्टीको कठिन अवस्थामा डा.कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरि पार्टीलाई सङ्कटबाट जोगाउनुपर्नेमा जोड दिए ।
छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औँ महाधिवेशन अन्यौलता रहेको र त्यसको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका थिए । साथै तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभएको धारणा राखेका थिए ।
यही फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने समेत बताएका छन् । कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको जानकारी दिए । उनले नेता कार्यकर्तालाई पनि सहभागी हुन आह्वान गरे ।
डा.कोइरालाले निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयनको मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको जानकारी दिए । साथै, सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा हालसम्म त्यसको प्रत्याभूति नभएको बताए ।
पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफूलाई अदालतको निर्णय मान्य हुने समेत बताए । नेता तथा कार्यकर्तालाई निर्वाचनसँगै १५औँ महाधिवेशनको तयारी गर्न र तयारीमा लाग्न निर्देशन समेत दिएका थिए । उक्त कार्यक्रममा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरूले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको जनाए।

















