आईसीसी महिला टी–२० विश्वकप २०२६ छनोट : पहिलो दिन नेपाल र अमेरिका दुबै पराजित
काठमाडौँ / आईसीसी महिला टी–२० विश्वकप २०२६ छनोट प्रतियोगिता आइतबारदेखि नेपालमा सुरु भएको छ । उद्घाटन दिनमै घरेलु टोली नेपाल र अमेरिका दुवै टोली पराजित भएका छन् । थाइल्यान्डले नेपाललाई ८ विकेटले हराउँदा बंगलादेशले अमेरिकामाथि २१ रनको जित निकालेको हो ।
घरेलु मैदानमै नेपाललाई थाइल्यान्डको चुनौती पार गर्न गाह्रो
किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा एक सय २२ रनमा अलआउट भयो । नेपालका लागि बिन्दु रावलले ४४ रन बनाउँदै टोलीलाई सम्हाल्ने प्रयास गरिन् भने सम्झना खड्काले २६ रन जोडिन् । तर अन्य ब्याटरहरू लयमा आउन सकेनन् ।
थाइल्यान्डकी थिपात्चा पुत्थावोङ नेपालका लागि सबैभन्दा ठूलो चुनौती बनिन् । उनले ४ विकेट लिँदै नेपालको इनिङ्स तोडिन् ।
एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६.५ ओभरमै मात्र २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नात्थाकन चन्थामले शानदार ब्याटिङ गर्दै अपराजित ५७ रन बनाइन् । उनले अफिसारा सुवानचोनरथीसँग ६६ रनको साझेदारी गरिन् । विकेटकिपर नन्नापाट कोनचारोएनकाईले ३२ रन जोडिन् ।
नेपालका लागि सीता मगरले २ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन । यससँगै नेपाल प्रतियोगिताको पहिलो खेलमै हार बेहोर्न बाध्य भयो ।
अमेरिकाको राम्रो सुरुवात, तर अन्त्यमा बंगलादेशले बाजि मार्यो
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा अमेरिका पनि आफ्नो पहिलो खेलमा पराजित भएको छ । टस जितेर फिल्डिङ रोजेको अमेरिकाविरुद्ध बंगलादेशले २० ओभरमा पाँच विकेट खर्चर एक सय ५८ रन बनायो ।
बंगलादेशकी शर्मिन अख्तरले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ६३ रन प्रहार गरिन् । उनले शोभना मोस्तारीसँग ६३ रनको साझेदारी गरिन् । अमेरिकाका लागि माही माधवनले ३ विकेट लिएका थिइन्।
जवाफमा अमेरिका एक ३७ रनमा सीमित रह्यो ।
चेतना पागिड्यालाले ३६ रन र रितु सिंहले १३ बलमा ३३ रन बनाउँदै आशा जगाए पनि नियमित अन्तरालमा विकेट खस्दा अमेरिका लक्ष्य नजिक पुग्न सकेन ।
बंगलादेशकी नाहिदा अख्तर ले निर्णायक बलिङ गर्दै ४ विकेट लिइन् । उनको बलिङकै कारण अमेरिका २१ रनले खेल गुमाउन पुग्यो ।
अन्य खेलहरूमा आयरल्यान्डले पपुवा न्यू गिनीलाई ४१ रनले हरायो । यस्तै नेदरल्यान्ड्सले जिम्बाब्वेलाई २२ रनले पराजित गर्यो, जिम्बाब्वेकी क्रिस्टाबेल चाटोन्ज्वाको ५ विकेट खेर गयो ।

















