विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले भने– ‘काँग्रेसको शान जोगाएर काम गर्छु’
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन पार्टीको शान र गौरव जोगाउँदै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विशेष महाधिवेशनलाई समापन समारोहलाई सम्बोधन गर्दै उनले यो जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै आफूले पाएको विश्वासको कदर गर्दै कसैको पनि शिर निहुराउने अवस्थामा नपुग्ने गरी काम गर्ने बताए ।
उनले भने, ‘यो जोखिम हामीले उठाउनैपथ्र्यो। मैले भन्दा पनि तल बस्ने साथीहरू र स्टेजमा रहेका धेरै नेताहरूले ठुलो जोखिम उठाउनुभएको छ। आज हामी नेपाली काँग्रेसको विशेष महाधिवेशनको ऐतिहासिक क्षणमा छौँ। म तपाईहरू सबैप्रति आभारी छु।’
सभापति थापाले नेपाली काङ्ग्रेसजस्तो गौरवशाली पार्टीको नेतृत्व सम्हाल्नु ठुलो जिम्मेवारी भएको उल्लेख गर्दै इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए। ‘नेपाली काँग्रेसको सभापतिको नाम लिँदा मात्र पनि गर्वले छाती फराकिलो हुन्छ। त्यस्तो महान् पार्टीको नेतृत्व गर्ने जिम्मेवारी सानो होइन,’ उनले भने।
आफूले पार्टीको शान कायम राख्ने मात्र नभई काँग्रेससँग जोडिएका कार्यकर्ता र समर्थकलाई पार्टीप्रति गर्व गर्ने अवस्था बनाउने उनले बताए। साथै देशका नागरिकहरूमा ‘नेपाली काँग्रेस छ’ भन्ने भरोसा जगाउने काम काँग्रेसले फेरि गर्ने दाबी पनि उनले गरे।
उनले नेपाली काँग्रेस फुटेको हैन भन्दै विधानमा भनिए अनुरूप विशेष महाधिवेशनको अभ्यास मात्र भएको बताए ।
‘अब हामीले धेरै कामहरू गर्नुपर्नेछ । नेपाली काँग्रेसका बारेमा कोही साथीहरूले कृपया कसैले पनि यो कुरा नसोधिदिनु होला, नभन्दिनु होला काँग्रेस फुटेको छैन। काँग्रेस यही छ । काँग्रेसको विधानमा विशेष महाधिवेशन हुन्छ भनेर लेखेको विधानको अभ्यास गर्दा कसरी फुट्छ काँग्रेस ? कसरी फुट्न सक्छ काँग्रेस ?’ नवनिर्वाचित सभापति थापाले भने ।


















