निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन् – महामन्त्रीको पद बिहानै त्यागिसके
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले आफूले बिहानै महामन्त्रीको पद त्यागिसकेको बताएका छन् ।
बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले बिहान नै आफूले महामन्त्री पद त्यागेको भन्दै महामन्त्रीको लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसकेको जानकारी दिए ।
उनले भने, ‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो । बद्लिएको समय अनुसार कांग्रेस चलाऊँ भन्दा कारबाहीमा परिँदो रहेछ । एक जना साथीले फोन गरेर दाइ कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसक्नुभएको छ ।’
महामन्त्रीद्वय ५ वर्षका लागि पार्टीबाट निष्कासित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।
बुधबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय सहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको प्रचारप्रसार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।
उनले भने, ‘उहाँहरुलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी आजैदेखि लागू हुनेगरी निष्कासित गर्ने निर्णय भएको छ ।’
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति बैठकबाट निष्कासन गर्ने निर्णय गरिएको हो । बैठकले विशेष महाधिवेशनमा गएकाहरूलाई फर्किनसमेत आग्रह गरेको छ ।
‘आकर्षण र लहैलहैमा लागेर साथिहरुले पार्टीको हित विपरित कार्य गर्ने अन्य पदाधिकारीहरुलाई पार्टीमा फर्कन आव्हान गरेको छ ।’ उनले भने
वार्ता गर्दा पनि उचित निर्णयमा पुग्न नसक्दा यो कठोर निर्णयमा पार्टी पुगेको उनले बताए ।


















