राष्ट्रपति समक्ष अमेरिकाका राजदूत डीन आर. थम्पसनको बिदाइ भेट
काठमाडौं / नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्पसनले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन्।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार, यस भेटमा दुई देशबिचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय, र साझेदारीका अवसरहरूबारे गहन छलफल भएको थियो।
राजदूत थम्पसनले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा राष्ट्रपति पौडेलले धन्यवाद तथा शुभकामना व्यक्त गरे।
राष्ट्रपति पौडेलले अमेरिकासँगको लामो समयदेखि चलेको मित्रता, कूटनीतिक सहकार्य, आर्थिक तथा विकास साझेदारीलाई उच्च मूल्याङ्कन गर्दै नेपाल–अमेरिका सम्बन्ध अझ दृढ र फाइदाजनक बन्ने विश्वास व्यक्त गरेको जनाइएको छ।
थम्पसनले नेपालमा रहँदा प्रजातान्त्रिक संस्थाहरू, आर्थिक विकास, व्यापार वृद्धि, सुरक्षा सहयोग र मानवीय साथमा महत्त्वपूर्ण भूमिका निभाएका छन्।
२०२२ मार्चमा उनलाई नेपालको लागि राजदूतको रूपमा नियुक्त गरिएको थियो, र त्यसपछिका करिब तीन वर्षको अवधिमा उनले नेपालमा अमेरिकी नीतिहरू र साझेदारीलाई सक्रिय रूपले प्रवर्द्धन गरे।
यस पटक राजदूत थम्पसन अमेरिकी प्रशासनको आम व्यवस्थापन र कूटनीतिक पुन:समायोजनको एक भागको रूपमा फिर्ता बोलाइएको हो। २०२५ को अन्त्यतिर अमेरिकाले लगभग ३० वटा देशमा रहेका आफ्ना वरिष्ठ कूटनीतिज्ञ तथा राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
अमेरिकी विदेश विभागका अधिकारीहरूको भनाइमा, राजदूतहरूको नियमित कार्यकाल सामान्यतया तीन–चार वर्षको हुन्छ र प्रशासनले नयाँ रणनीति, प्राथमिकता तथा नेतृत्व अनुसार पदस्थापनहरू फेरबदल गर्न सक्छ।
फोटो राष्ट्रपतिको कार्यालय


















