जनकपुरधाममा गगन थापाको पुतला दहन
जनकपुर । जनकपुरधाममा नेपाली कांग्रेसका नेता गगन थापाको पुतला दहन गरिएको छ ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पक्षधरका नेता तथा कार्यकर्ताहरूले मंगलबार साँझ जनकपुरधाममा गगन थापा विरुद्ध नाराबाजी गर्नुका साथै पुतला दहनसमेत गरेका छन् ।
उनीहरुले गगन थापा मुर्दावाद, नेपाली कांग्रेस जिन्दाबाद लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा जनकपुरधामको पिडारी चोक ठप्प बनेको थियो । दुवै तर्फबाट आवत जावत गर्ने सवारी साधनहरू बन्द भएको थियो ।
नेता निधिमाथि सञ्चालित रुपमा केही व्यक्तिहरुले आज दुर्व्यवहार गरेकोले त्यस्ता व्यक्तिहरूको विरुद्धमा आज जनकपुरधामका निधि पक्षधर कांग्रेसका नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसका युवा नेता राकेश विक्रमले बताए । पार्टीले सबै नेतालाई सम्मान गर्न सिकाएको बताउँदै नेता निधिमाथि भएको दुर्व्यवहार गलत रहेको बताए ।
काठमाडौँको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले मंगलबार दिउँसो पार्टी कार्यालय बाहिर घेराउ गरेका थिए ।
कार्यालयमा हुने केन्द्रीय कार्यसम्पादनको बैठकमा सहभागी हुन आइपुगेका नेता निधिलाई बाहिर कार्यकर्ताहरूले घेरेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल तथा समाचारहरूमा प्रकाशित भएपछि नेपाली कांग्रेसका निधि पक्षधरहरू आक्रोशित भएका छन् ।
















