भारतीय मूलका अर्जुन मोदीद्वारा सोसल सेक्युरिटी प्रशासनका उप–आयुक्तमा सपथ ग्रहण
बाल्टिमोर, मेरिल्याण्ड / भारतीय मूलका अमेरिकन अर्जुन मोदीले सोसल सेक्युरिटी एडिमिनिश्ट्रेशन (एसएसए) उप आयुक्त पदको मंगलवार सपथ लिएका छन्।
आयुक्त फ्र्याङ्क जे. बिसिन्यानोले मोदी लाई संस्थाको नयाँ उप–आयुक्तको रूपमा स्वागत गरेका छन्। मोदीको कार्यकाल जनवरी १९, २०३१ मा समाप्त हुनेछ।
अमेरिकी सिनेटले उनलाई डिसेम्बर १८, २०२५ मा औपचारिक रूपमा पुष्टि गरेको थियो भने उनले जनवरी ५, २०२६ मा सपथ ग्रहण गरेका हुन्।
उप–आयुक्तको हैसियतमा मोदीले एसएसएको चिफ अपरेशन अफिसरको जिम्मेवारी सम्हाल्नेछन्।
एसएसए आयुक्त बिसिन्यानोले मोदी जस्तो अनुभवी व्यक्ति जोडिनु गौरवको विषय भएको बताए।
“राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको नेतृत्वमा सामाजिक सुरक्षा प्रशासन अझ प्रभावकारी र छिटो सेवा दिने अग्रणी संस्थामा रूपान्तरण हुँदैछ। अर्जुन मोदी जस्ता अनुभवी र समर्पित व्यक्तित्व हाम्रो नेतृत्व टोलीमा हुनु गौरवको विषय हो।” बिसिन्यानोले भने, ” उहाँको सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता र अनुभवले संस्थाको कामलाई अझ उचाइमा पुर्याउने विश्वास छ।”
उप–आयुक्त मोदीले आफ्नो प्रतिक्रिया दिँदै भने आफूलाई अवसर दिएकोमा राष्ट्रपति प्रति आभार व्यक्त गरे।
“एसएसएमा यो जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा म राष्ट्रपति डोनाल्ड जे. ट्रम्पप्रति आभारी छु। हामी प्रत्येक अमेरिकीका लागि सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाउनेछौँ।” मोदीले भने।
उप–आयुक्तमा नियुक्त हुनुअघि मोदीले ट्रम्प–भान्स ट्रान्जिसन टिम मा काम गरेका थिए।
यसअघि उनी अमेरिकी सिनेटको रिपब्लिकन कन्फ्रेन्स अन्तर्गत तेस्रो उच्च नेतृत्व तहको कार्यालयका स्टाफ डाइरेक्टर समेत रहिसकेका छन्। साथै, उनले सिनेटरहरू एलिजाबेथ डोल, के बेइली हचिसन र जोन बारासो का लागि क्यापिटल हिलमा काम गरेका थिए।
मोदीले आफ्नो करिअर ह्वाइट हाउसको राष्ट्रिय लागु औषध नियन्त्रण नीति कार्यालयमा प्रेसिडेन्सियल म्यानेजमेन्ट फेलो का रूपमा सुरु गरेका थिए।
उनले पछि एस- ३ ग्रुपमा प्रिन्सिपलको रूपमा काम गर्दै फर्च्युन १०० कम्पनीहरूलाई कानुनी रणनीति, नियामक समन्वय, विलय, संकट व्यवस्थापन र सार्वजनिक मामिला अभियानमा परामर्श दिएका थिए।
मोदीले शैक्षिक रूपमा ला साल विश्वविद्यालय, एरिजोना स्टेट युनिभर्सिटीको सान्ड्रा डे ओकनर कलेज अफ ल तथा अमेरिकन युनिभर्सिटी वासिङ्टन कलेज अफ ल बाट अध्ययन पूरा गरेका छन्।
















