‘विशेष महाधिवेशनको तयारी तीव्र, निधिमाथिको दुर्व्यवहार कार्यकर्ताको भावना’
काठमाडौँ । नेपाल कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले तयारी तीव्र भइरहेको र प्रतिनिधिहरूलाई काठमाडौं आउनका लागि आव्हान गरेका छन् ।
विशेष महाधिवेशन पक्षधरले अनामनगरस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी दिएका हुन् । महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको नेता सुवास पोखरेलले जानकारी दिए ।
उनले विशेष महाधिवेशनमा भाग लिनको लागि काठमाडौँ आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गरे । महाधिवेशन भृकुटीमण्डपमा पुस २७ र २८ गते गर्ने गरी तयारी गरिएको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महाधिवेशनमा देशभरबाट उत्साहजनक उपस्थिति हुने दाबी गरे ।
‘हाल स्वयंसेवक परिचालन समितिदेखि मिडिया व्यवस्थापनको समितिको पनि व्यवस्था हुदैँछ । विशेष महाधिवेशन भनेको विधानको रक्षा गर्नको लागि हो । संविधानमा समस्या आयो भने जसरी राजनीतिक दलहरूले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ त्यसैगरि काङ्ग्रेसको विधानमा रहेको व्यवस्थामा टेकेर यो महाधिवेशनको माग हो र विधानको रक्षापनि हो,’ शिवाकोटीले भने ।
यता, मंगलबार नै पार्टी कार्यालयमा पूर्व उपसभापति विमलेन्द्र निधी माथि भएको दुर्व्यवहार कार्यकर्ताको अन्तर आत्माको भावना भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । तर उक्त घटनाको जिम्मेवारी आफूहरूले नलिने पनि बताइयो ।
कार्यकर्ताहरूले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन गएका नेता निधिलाई बाटो छेकेर दुर्व्यवहार गरेका थिए । तर नेता पोखरेलले उक्त घटना स्वतः स्फूर्त भएको र आफूहरूले त्यस्तो गतिविधि नगर्ने पनि दाबी गरे ।
तर उक्त घटनामा आफूहरूको संलग्नता नरहेको विशेष महाधिवेशन पक्षधरका नेताहरूको दाबी छ ।

















