पार्टी समायोजनको कार्य तुरुन्त टुङ्गाउने रास्वपाको तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले आजको बैठक निर्वाचन केन्द्रित गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलहरू भएर टुङ्गिएको बताएका छन्।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपश्चात् उनले निर्वाचन केन्द्रित गतिविधिलाई कसरी अगाडि बढाउने र समायोजनको कार्य तुरुन्त टुङ्गाउने गरी कामहरु अगाडि बढाउने विषयमा आजको बैठकमा छलफल भएको बताए ।
उनले भने, ‘विशेष गरी निर्वाचनसँग केन्द्रित गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरू भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुङ्गाउने गरी कामहरु अगाडि बढाई रहेको छ । यसको पहिलो बैठक भोली हुन्छ होला ।’
यस्तै, उनले बैठकमा पहिलाको शपथमा मेयरको तर्फबाट छुटेका केही सदस्यहरूको सपथ भएको भन्दै कुलमान घिसिङको तर्फबाट पनि नाम छिटो पठाउन आग्रह गरेको बताए ।
उनले भने, ‘पहिलाको शपथमा मेयरसाबको तर्फबाट छुट्नु भएका केही साथीहरूले आज सपथ लिनु भएको छ र कुलमान घिसिङज्यूको तर्फबाट पनि नाम छिटो पठाउनको लागि उहाँहरूले काम गरिरहनु भएको छ । उहाँहरूको सपथ पनि छिटै टुङ्गाएर समायोजन प्रक्रियालाई एकदमै तीव्र रुपमा अगाडि बढाउने र त्यसपछि चुनावी प्रक्रियामा होमिने बारेमा पनि हामीले छलफल गरेका छौ ।’
कुलमान र बालेन पार्टी कार्यालय कहिले आउँछन् भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उनले केही प्राविधिक कुराहरू मिलाएपछि पार्टी कार्यालयमा आउने बताए ।
उनले भने, ‘केही प्राविधिक कुरा मिलाउनु पर्ने भएको हुनाले बालेन र कालमानजी यहाँ आइ सक्नु भएको छैन् । त्यो प्राविधिक कुराहरू सकाएपछि पार्टी कार्यालयमा नै आउनु हुन्छ ।’
















