आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन् : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारेका छन् ।
काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसन अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताएका हुन् ।
उनले भने, ‘मलाई यहाँ एउटा साथीले उठाउनुभएको कुरा छ अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन ।’
त्यस्तै उनले इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक तोक्न आवश्यक रहेको बताउँदै त्यसको प्रकृया अगाडि बढाएको जानकारी दिए ।
‘सरकारले इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक तोक्नै पर्छ । श्रम मन्त्रालय अन्तर्गत हामीले पठाएका छौँ । त्यसलाई श्रम मन्त्रालयले नै निर्देशन जारी गर्नुपर्ने हुनाले त्यसमा हामी अगाडि बढेको छौँ ।’ उनले भने ।
उनले केही कुरामा मात्र पनि सरकारले ध्यान दिएर सुधार गर्ने हो भने धेरै इन्जिनियरहरूले रोजगारी पाउने अवस्था सृजना हुने बताए । दरबन्दी निर्माण गर्न खोज्दा अर्थ मन्त्रालयले सहमति नदिँदा धेरै इन्जिनियरहरूले रोजगारीबाट वञ्चित हुनुपर्ने अवस्था रहेको उनको भनाई छ ।
उनले भने, ‘केही कुराहरूमा सुधार गर्दा खेरी धेरै इन्जिनियरहरूले रोजगारी पाउने अवस्था छ । त्यो विषयलाई हामीले नियन्त्रण गर्ने र गम्भीर रुपमा सरकारले हेर्नुपर्छ । संस्थानहरूमा इन्जिनियरहरूको धेरै ठूलो माग छ । विद्युत प्राधिकरणमा पनि धेरै माग छ । इलेक्ट्रिकल इन्जिनियर पाएकै छैन् । त्यसको दरबन्दी निर्माण गर्न खोज्दा अर्थ मन्त्रालयले सहमति दिँदैन । एकातिर प्रदर्शन गर्न सकेको छैन अर्कोतिर रोजगारी सृजना भइरहेको छ यो कुरा सरकारले गम्भीर रुपमा हेर्नुपर्छ’ उनले भने ।
















