ट्रम्प प्रशासनद्वारा भिसा, ग्रिन कार्ड र असाइलम आवेदनमा रोक
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / ट्रम्प प्रशासनले अफ्रिकाका अधिकांश देशहरू सहित थप २० देशका नागरिकका लागि भिसा, ग्रिन कार्ड, नागरिकता र असाइलम सम्बन्धी आप्रवासन आवेदनहरू अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।
युएस सिटिजन एन्ड इमिग्रेसन (युएससिआइएस)ले जारी गरेको ज्ञापन पत्रमा घोषणा गर्दै सन् २०२१ सम्मका यी देशहरूबाट आएका आप्रवासीका आवेदनहरू पुनः समीक्षा गर्ने योजना रहेको जनाएको छ ।
ज्ञापन पत्रमा भनिएको छ, “उच्च जोखिम भएका चिन्ताजनक देशहरूबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेका विदेशी नागरिकहरूले राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षामा जोखिम नपु¥याउने सुनिश्चित गर्न (युएससिआइएस) प्रतिबद्ध छ।”
“अमेरिकी आप्रवासन कानुनलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न, बसाइ अवधि उल्लङ्घनको उच्च दर, व्यापक ठगी, वा दुवै समस्या भएका देशहरूबाट आउने विदेशी नागरिकहरूको प्रवाह रोक्नुपर्छ।”, ज्ञापन पत्रमा उल्लेख उल्लेख गरिएको छ ।
२०२६ को सुरुवातसम्म अमेरिकाले ३९ देशमाथि पूर्ण वा आंशिक यात्रा प्रतिबन्ध लगाइसकेको छ । साथै जनवरी १ देखि लागू भएको विस्तारित नीतिअनुसार ती देशका नागरिकहरूले अमेरिकामा प्रवेश गर्न कडा प्रतिबन्धको सामना गर्नुपर्नेछ ।
यो निर्णय माली र बुर्किना फासोले अमेरिकी नागरिकलाई आफ्ना देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको तीन दिनपछि आएको हो । ती देशहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले माली र बुर्किनाबे नागरिकमाथि अमेरिकामा प्रवेश प्रतिबन्ध लगाएपछि प्रतिकार स्वरूप यस्तो कदम चालेको जनाइएको छ ।
यी घोषणाहरू दुई पश्चिम अफ्रिकी देशका विदेश मन्त्रीहरूले छुट्टाछुट्टै विज्ञप्तिमार्फत गरेका थिए । यसले पश्चिम अफ्रिकाका सैन्य सरकारहरू र अमेरिकाबिच चिसिँदै गएको सम्बन्धलाई झन् जटिल बनाएको छ ।
सन् २०२५ को डिसेम्बर १६ मा राष्ट्रपति ट्रम्पले माली, बुर्किना फासो र नाइजर लगायत थप २० देशमाथि यात्रा प्रतिबन्ध विस्तार गरेका थिए । यी देशहरू सैन्य शासनमा छन् र पश्चिम अफ्रिकी क्षेत्रीय सङ्गठन (इकोवास) बाट अलग बनेको समूहमा आबद्ध छन् ।
ह्वाइट हाउसले यी यात्रा प्रतिबन्धको कारणका रूपमा सशस्त्र समूहहरूको निरन्तर आक्रमणलाई उल्लेख गरेको छ ।
















