भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो, सबै यात्रु सकुशल
काठमाडौँ / झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रन–वेबाट बाहिर चिप्लिएको छ ।
उक्त घटनामा विमानमा सवार सबै यात्रु सुरक्षित रहेको जनाइएको छ ।
९ एन–एमएफ कलसाइन रहेको एटीआर–७२ विमान अवतरण गर्ने क्रममा सन्तुलन गुमाउँदै रन–वेबाट चिप्लिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानमा चालक दलसहित ५१ जना यात्रु सवार थिए ।
घटनापछि तुरुन्तै सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले उद्धार कार्य सञ्चालन गरेका थिए । सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको र कुनै मानवीय क्षति नभएको क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलले बताएका छन् ।














