आजबाट मध्यरात पछि लागु हुँदै अमेरिकाद्वारा ३९ देशका नागरिकमाथि लगाइएको यात्रा र भिसा प्रतिबन्ध
वाशिङ्टन । अमेरिका सरकारले राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षालाई कारण देखाउँदै ३९ देशका नागरिकमाथि नयाँ यात्रा तथा भिसा प्रतिबन्ध आज मध्यरात (जनवरी १ तारिख) देखि लागू हुँदै छ।
राष्ट्रपतीय आदेश अनुसार यो निर्णय जनवरी १, २०२६ राति १२:०१ बजेदेखि लागू भएको हो।
अमेरिकी गृह सुरक्षा मन्त्रालय अन्तर्गतको यूएस कस्टम एण्ड बोर्डर अमेरिकी भन्सार र सीमा सुरक्षा (सीबीपी ) र विदेश मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक निर्देशनअनुसार केही देशका नागरिकको अमेरिका प्रवेश पूर्ण रूपमा रोकिएको छ, भने केही देशका नागरिकका लागि विशेष भिसा वर्गमा आंशिक प्रतिबन्ध लगाइएको छ।
कुन देशमाथि पूर्ण प्रतिबन्ध ?
नयाँ व्यवस्था अनुसार अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनिया, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन लगायत देशका नागरिकलाई आप्रवासी र गैर–आप्रवासी दुवै प्रकारका भिसामा पूर्ण प्रतिबन्ध लगाइएको छ।
यसैगरी बुर्किना फासो, लाओस, माली, नाइजर, सियरा लियोन, दक्षिण सुडान र सिरिया का नागरिकहरू पनि नयाँ सूचीमा थपिएका छन्।
विशेष रूपमा प्यालेस्टाइन प्राधिकरणद्वारा जारी वा अनुमोदित यात्रा कागजात प्रयोग गरेर अमेरिका प्रवेश गर्न खोज्ने व्यक्तिलाई समेत पूर्ण प्रतिबन्ध लगाइएको छ।
आंशिक प्रतिबन्ध लाग्ने देशहरू
केही देशका नागरिकलाई भने पूर्ण प्रतिबन्ध नभई निश्चित भिसा वर्गमा मात्र रोक लगाइएको छ। यसमा बुरुन्डी, क्युबा, टोगो, तुर्कमेनिस्तान (आप्रवासी मात्र), भेनेजुएला लगायत देशहरू परेका छन्।
त्यसैगरी नाइजेरिया, सेनेगल, तान्जानिया, जाम्बिया, जिम्बाब्वे, मलावी, गाम्बिया, एन्टिगुवा एन्ड बार्बुडा, डोमिनिका जस्ता देशहरूमा पनि बी–१/बी–२ (पर्यटन/व्यापार), एफ (विद्यार्थी), जे (एक्सचेन्ज), एम (प्राविधिक अध्ययन) भिसामा प्रतिबन्ध लागू गरिएको छ।
को प्रभावित हुन्छ ? को हुँदैन ?
अमेरिकी अधिकारीहरूका अनुसार जनवरी १, २०२६ भन्दा अघि जारी भइसकेका वैध भिसा, वा पहिले नै अमेरिका भित्र रहेका व्यक्तिहरू लाई यो आदेशले तत्काल असर गर्दैन।
तर नयाँ भिसा आवेदन, वा अमेरिका बाहिर रहेर प्रवेशको प्रयास गर्नेहरू भने यस नियमबाट प्रत्यक्ष प्रभावित हुनेछन्।
प्रतिबन्धको कारण के हो ?
अमेरिकी सरकारको भनाइमा, यो निर्णय राष्ट्रिय सुरक्षामा देखिएका जोखिम, केही देशसँग यात्रु विवरण तथा सुरक्षा सूचना आदान–प्रदानको अभाव, भिसा प्रक्रिया र कागजातको विश्वसनीयतामाथि उठेका प्रश्नलाई ध्यानमा राखेर गरिएको हो।
सरकारले यो आदेश आप्रवासन नियन्त्रणलाई कडा बनाउने र सम्भावित सुरक्षा चुनौती न्यूनीकरण गर्ने उद्देश्य ले ल्याइएको जनाएको छ।
सरकारको आग्रह
अमेरिकी विदेश मन्त्रालयले यात्रा योजना बनाइरहेका व्यक्तिलाई आफ्नो भिसा स्थिति, देश सूची र लागू मितिबारे आधिकारिक वेबसाइटमार्फत अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।
यो निर्णयलाई अमेरिकाको पछिल्ला वर्षहरूकै सबैभन्दा व्यापक यात्रा प्रतिबन्धमध्ये एक मानिएको छ। आगामी दिनमा सूचीमा थप परिवर्तन हुन सक्ने संकेत समेत दिइएकाले, विदेश यात्रा र भिसा प्रक्रियामा संलग्न सबैले सतर्कता अपनाउनुपर्ने देखिन्छ।

















