पेन्सिलभेनियामा सवारी चलाउँदै हुनुहुन्छ? यी कुरामा विशेष ध्यान दिनुहोस्
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / पेन्सिलभेनियामा ध्यान भङ्ग गरेर सवारी चलाउने (डिस्ट्रयाक्टेड ड्राइभिङ) सम्बन्धी नयाँ कानुन लागू हुने भएको छ ।
यो नयाँ नियमलाई आउँदो २०२६ मा सवारी चालकहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कानुनी परिवर्तनमध्ये एक मानिएको छ ।
पल मिलरको कानुन अन्तर्गत आगामी २०२६ जुन ५ तारिखदेखि सवारीसाधन चलाउँदा हातमा मोबाइल फोन वा अन्य उपकरण प्रयोग गर्ने चालकलाई प्रहरीले सिधै जरिवाना गर्न सक्ने बताइएको छ ।
यसअघि २०२५ को जुन ५ तारिखदेखि लागू गरिएको चेतावनी अवधिको अन्त्य गर्दै अब पूर्ण कार्यान्वयन सुरु हुने जनाएको हो । कानुन उल्लङ्घन गरेमा सवारी चालकलाई ५० डलर जरिवाना सहित अदालत खर्च र अन्य शुल्क तिर्नु पर्नेछ ।
यदि कुनै चालक ध्यान भङ्ग अवस्थामा सवारी चलाउँदा कसैको मृत्यु भएमा (हत्याजस्तै सवारी अपराध) गराएको प्रमाणित हुने जनाएको छ । सार्थै पाँच वर्षसम्मको कैद सजाय हुनेछ ।
सन् २०२४ मा सिनेट बिल ३७ का रूपमा पारित भई कानुन बनेको यस नियमले सवारी चलाउँदा मोबाइल फोन वा अन्य उपकरण समात्न वा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरेको छ ।
आपतकालीन फोन कल र ह्यान्ड्स–फ्री प्रयोगका लागि सीमित नियमहरू छन् । यो नियम प्राथमिक अपराध हो । जसका कारण प्रहरीले अन्य कुनै कारण नहुँदा पनि यसैको आधारमा सवारी साधन रोक्न सक्नेछन् ।
स्टेट अफिसियलहरुका अनुसार पेन्सिलभेनियाका सडकहरूमा दुर्घटना र मृत्युको प्रमुख कारण (डिस्ट्रयाक्टेड ड्राइभिङ) रहेको बताएका छन् । साथै, अफिसियलहरुले ध्यान भङ्ग गरेर सवारी चलाउनेलाई नियन्त्रण गर्न लक्षित रहेको बताएका छन् ।
स्टेट प्रहरीका अनुसार, जुन ५ देखि सेप्टेम्बर ३० तारिखसम्म पेन्सिलभेनिया राज्यभर ६ सय ७४ वटा चेतावनी दिइएको थियो । जसअन्तर्गत बक्स, नर्थह्याम्पटन र लेहाई काउन्टीमा मात्र ३८ चेतावनी जारी गरिएको थियो ।
त्यसै गरी, जनवरी १ देखि सेप्टेम्बर ३० तारिखसम्म राज्यभर ६ हजार १६४ ध्यान भङ्ग सवारी दुर्घटना अनुसन्धान गरिएको थियो । तीमध्ये ३ सय ९८ सवारी दुर्घटना भएको थियो ।
यो कानुन पल मिलर जुनियरको सम्झनामा नामकरण गरिएको हो । सन् २०१० मा २१ वर्षे मिलरको निधन ध्यान भङ्ग (डिस्ट्रयाक्टेड ड्राइभिङ) अवस्थामा रहेको व्यावसायिक ट्रक चालकले ठक्कर दिँदा भएको थियो । यस घटनाले वर्षौँसम्म कडा सडक सुरक्षा कानुनको मागलाई बलियो बनाएको थियो ।













