ब्राउन विश्वविद्यालय गोली काण्डपछि अमेरिकामा डिभी लटरी कार्यक्रम स्थगित, मुख्य आरोपी पोर्चुगिज नागरिक भालेन्ते मृत फेला
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाले डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) लटरी कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको छ ।
युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सचिव किस्टी नोयमले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा तत्कालका लागि डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) लटरी कार्यक्रम अस्थायी रूपमा स्थगित भएको जानकारी दिएकी हुन् ।
ब्राउन विश्वविद्यालयमा दुई विद्यार्थी र मासाचुसेट्स इन्सिच्युट अफ टेक्नोलोजीका एक प्राध्यापकको हत्या आरोपित व्यक्ति यही कार्यक्रममार्फत अमेरिका आएको खुलेपछि (डिभी) लटरी कार्यक्रम रोकिएको हो । सचिव नोयमले सामाजिक सञ्जाल एक्समा लेख्दै ट्रम्प प्रशासनले (डिभी) लटरी कार्यक्रम अस्थायी रूपमा रोक्न निर्देशन दिएको बताएकी थिइन् ।
उनले भनिन् “यस विनाशकारी कार्यक्रमका कारण अब कुनै पनि अमेरिकी नागरिकलाई हानि नहोस् भन्ने सुनिश्चित गर्न कार्यक्रम रोकिएको हो,”
गत डिसेम्बर १३ मा रोड आइल्याण्ड राज्यको प्रोभिडेन्सस्थित ब्राउन विश्वविद्यालयको भौतिक शास्त्र भवनमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुई विद्यार्थीको मृत्यु भएको थियो । त्यस्तै ९ जना घाइते भएका थिए ।
प्रहरीका अनुसार उक्त घटनाका मुख्य आरोपी ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो म्यानुअल नेभेस भालेन्ते रहेको बताइएको छ ।
ब्राउन विश्वविद्यालयकी अध्यक्ष क्रिस्टिना एच. पक्सनका अनुसार भालेन्ते सन् २००० मा ब्राउन विश्वविद्यालयमा भौतिक शास्त्र विषयको पीएचडी कार्यक्रममा अध्ययनरत थिए ।
उनीमाथि ब्राउन विश्वविद्यालयमा भएको गोली काण्डपछि दुई दिनमै म्यासाचुसेट्स राज्यको ब्रुकलाइनस्थित आफ्नै निवासमा एमआइटीका भौतिक शास्त्र प्राध्यापक नुनो लोरेइरोको हत्या गरेको आरोप पनि लागेको छ । प्रारम्भिक विवरणअनुसार भालेन्ते र लोरेइरो दुवै पोर्चुगलमै एउटै विश्वविद्यालयमा अध्ययन गरेको पाइएको छ ।
प्रहरी अधिकारीहरूले बिहीवार नै न्यु ह्याम्पशायर राज्यको एक भण्डारण केन्द्रमा भालेन्ते मृत अवस्थामा फेला परेपछि केही घण्टामै उनको पहिचान सार्वजनिक गरेका थिए । प्रोभिडेन्स प्रहरी प्रमुख अस्कर पेरेजका अनुसार घटनास्थलबाट हतियारहरू पनि बरामद गरिएको छ ।
बोस्टनस्थित अमेरिकी अधिवक्ता कार्यालयले भालेन्तेको मृत्यु पुष्टि भएपछि जारी गरेको विज्ञप्तिमा “अब सर्वसाधारणका लागि कुनै खतरा बाँकी छैन” भनेको छ । अधिकारीहरूका अनुसार भालेन्तेले एक्लै घटना घटाएको विश्वास गरिएको छ र हत्याको स्पष्ट उद्देश्य हालसम्म सार्वजनिक गरिएको छैन।
सचिव नोएमका अनुसार भालेन्ते सन् २०१७ मा (डिभी वान) लटरी कार्यक्रममार्फत अमेरिका आएका थिए । साथै उनलाई स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) प्रदान गरिएको थियो।
उनले एक्समा लेख्दै भनेकी छन्, “सन् २०१७ मै राष्ट्रपति ट्रम्पले यो कार्यक्रम अन्त्य गर्न प्रयास गरेका थिए । न्यूयोर्क सिटीमा भएको ट्रक आक्रमणमा डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका इस्लामिक स्टेट (आइएसआइएस)का आतंककारीले आठ जनाको हत्या गरेपछि यो कदम चालिएको थियो।”
युएससीआइएसको वेबसाइटअनुसार डाइभर्सिटी इमिग्रेन्ट (डिभी) भिसा कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष अधिकतम ५० हजार आप्रवासी अमेरिका आउने गर्छन् ।
यो कार्यक्रम चिठ्ठा (लटरी) प्रणालीमा आधारित छ । जसअन्तर्गत अमेरिका आप्रवासन दर कम भएका देशका नागरिकलाई प्राथमिकता दिँदै भिसा वितरण गरिदै आइरहेको थियो ।















