ड्रुक सितोकाईको ऐतिहासिक दोस्रो वार्षिक कंग्रेस २०२५, विभिन्न निर्णय गर्दै बैठक सम्पन्न
सहयात्री ढकाल
कोलम्बस,ओहायो/ ड्रुक सितोकाईको टेक्निकल सेमिनार तथा दोस्रो वार्षिक कंग्रेस २०२५ विभिन्न निर्णयहरूसहित सफलतापूर्वक सम्पन्न भएको छ।
गत नोभेम्बर २९ र ३० तारिखमा कोलम्बसमा सम्पन्न दुई दिनसम्म चलेको कार्यक्रमको औपचारिक बैठक साँझ ६ बजेदेखि सुरु भएको थियो, जहाँ संगठनका विभिन्न राज्यका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो।
बैठकमा क्यानडाबाट डुम्पा मोङ्गर, कोलम्बसबाट तुला ढकाल र मोनी राई, फार्गोबाट डैनी तामाङ र राज मगर, सिन्सिनाटीबाट मदन राई, डिसीबाट बिशाल गुरुङ, क्यान्टकीबाट बम मगर, क्यानडाका जो उन्टारियो, कराते डो सितोकाई अमेरिकाकी महासचिव सेन्सी एस. रबिनो तथा कराते डो सितोकाई अमेरिका प्रमुख प्रशिक्षक एवम् ड्रुक सितोकाईका प्राविधिक प्रमुख शिहान टी. रबिनोको उपस्थिति रहेको थियो।
सत्रमा संस्थापक सदस्यहरू राज मगर, मनि राई, डुम्पा मोङ्गर र तुला ढकालले वर्षभरिका गतिविधि तथा उपलब्धिहरू प्रस्तुत गरेका थिए। त्यसपछि अन्य सदस्यहरूले पनि आफ्नो–आफ्नो सुझाव र विचार व्यक्त गरेका थिए।
विश्व सितोर्यु कराते महासंघ ( डब्लुएसकेएफ-यूए) का प्रतिनिधि तथा ७औँ डान शिहान टी. रबिनोले बन्द सत्रको उद्घाटन गर्दै कंग्रेस सञ्चालन प्रक्रियाबारे विस्तृत रूपमा सम्हाल्नुका साथै औपचारिक उद्घाटन गरेका थिए।
बन्द सत्रमा सहभागीहरूले आफू–आफ्नो परिचय दिई प्रशिक्षण सामग्री तथा उपकरणका आवश्यकता बारे विभिन्न सुझावहरू राखेका थिए।
तुला ढकालले किक ब्याग, किकिङ प्याड, कुमिटे गियर तथा अन्य प्रशिक्षण उपकरणहरूको आवश्यकता औंल्याए। मोनी राईले उपकरण व्यवस्था तथा प्राप्तिमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
डैनी तामाङले पञ्जा, माउथगार्ड तथा कुमिटे उपकरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने बताएका थिए। डुम्पा मोङ्गरले भरपर्दो र उच्च गुणस्तरको डो–गी / केइको–गी सुरक्षित गरिनुपर्ने सुझाव दिए।
आयोजकका अनुसार बन्द सत्रमा विभिन्न प्राविधिक तथा नीतिगत विषयमा विस्तृत छलफल भएको थियो। सत्रले सबै डान परीक्षण सिफारिसहरू ड्रुक सितोकाईको प्राविधिक नेतृत्व टोलीका सदस्य श्री मोनी राईद्वारा निरीक्षण गरिने निर्णय गरेको छ। साथै डब्लुएसकेएफ मापदण्डअनुसार क्यु परीक्षा अवलोकन अनिवार्य गरिने निष्कर्ष निकालिएको छ।

वार्षिक गशाकु तथा ब्ल्याक बेल्ट परीक्षण २०२६ जुलाई/अगस्टमा आयोजना गर्ने निर्णय पनि पारित भएको छ। यसैगरी कराते डो सितोकाई अमेरिकाकी महासचिव सेन्सी एस. रबिनोले एरिजोनामा काइचो इवाता हान्शीसँग डब्लुएसकेएफ विशेष सेमिनार २०२६ फेब्रुअरीतिर आयोजना गर्ने योजना रहेका जानकारी दिइन्।
सत्रले आर्थिक रूपमा कमजोर खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ। कराते केवल लत्ती–मुड्कीको अभ्यास मात्र नभई जीवन जिउने उत्तम तरिका भएको शिहान रबिनोले बताए।
शिहान रबिनोले स्वास्थ्य चुनौतीका कारण डान ग्रेडिङमा असफल हुने खेलाडीलाई पुनः परीक्षणको अवसर दिने तर त्यसका लागि समितिलाई पूर्वजानकारी अनिवार्य रहने स्पष्ट पारे।
नोभेम्बर ३० को बिहान ९ बजेदेखि सुरु भएको टेक्निकल सेमिनारमा किहोन, काता तथा बुङ्काईका आधारभूत तथा प्राविधिक प्रशिक्षणहरू प्रदान गरिएको थियो। शिहान टी. रबिनोले सेमिनारको नेतृत्व गरेका थिए भने सोही अवसरमा सह–प्रशिक्षकहरूको परीक्षासमेत सम्पन्न गरिएको थियो।















