सरकार आर्थिक रूपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन : खेलकुद मन्त्री गुप्ता
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रूपमा कमजोर भएको कारण अत्यावश्यक कामहरू गर्न नसकेको बताएका छन् ।
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रममा उनले भौतिक संरचनाको सन्दर्भमा धेरै काम गर्न बाँकी भए पनि सरकार अहिले आर्थिक रूपमा कमजोर रहेको बताए । उनले स्रोत साधनले भ्याएसम्म समस्याहरू समाधान गरेर अगाडि बढ्ने बताए ।
उनले भने, ‘सरकारले गर्नुपर्ने केही भौतिक संरचनाको कुराहरू छन्, ट्राफिक लाइट र लेनसँग जोडिएको कुरा पनि छन् । तर सरकार अहिले आर्थिक रूपमा कमजोर अवस्थामा भएको कारण चाहेको खण्डमा सबै काम गर्न सकिरहेको छैन । हामीसँग भएको स्रोत साधनले जति हुन्छ समस्याहरू समाधान गरेर मिलाएर अगाडि बढ्नु पर्छ ।’
यस्तै, उनले ट्राफिक र सवारी चालकहरूले एक अर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने भन्दै यदि सकारात्मक दृष्टिकोण भएन भने सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम कार्यान्वयन हुन गाह्रो हुने बताए ।
आफ्नो मन्त्रालय खेलकुद मन्त्रालय मात्र नभई युवा मन्त्रालय पनि भएको भन्दै अब युवा भन्ने पक्षलाई ध्यान दिएर सबै क्षेत्रमा अगाडि बढ्ने पनि उनको भनाई छ ।















