साहित्य परिषद् भुटानको ह्यारिसबर्ग सम्मेलन, दुई सज्जनको नोक-झोक, दाँतमा ढुङ्गो
बिष्णु हरि घिमिरे
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ पत्रकारिता शुरु गर्नु भन्दा अगाडि देखि नै म काठमाडौंमा हुने साहित्यिक कार्यक्रममा दर्शक दीर्घामा हुन्थे। म कविता, गीत, कथा केही पनि लेख्दिन। तर पनि खै किन हो मलाई साहित्यिक कार्यक्रमले तान्थ्यो।
बीस वर्षको काठमाडौं बसाइँमा । खेलकुद पछि राजनीतिक र साहित्यिक कार्यक्रमले मलाई तान्यो। पत्रकारिता थाल्नु अगाडि नै रेडियो सगरमाथामा प्रकाश सायमीको अजम्बरी गीत संगित कार्यक्रम सुन्ने श्रोताहरूको भावक अभियानले मलाई थुप्रै मूर्धन्य साहित्याकाशको नजिक पुरार्यो।
त्यो बेलाका केही ‘युवा’ साहित्यकार अझै पनि मेरा ‘प्रिय’ को लिस्टमा छन्।
त्यो बेलाको जल्दो बल्दो युवा साहित्यकार जसले राष्ट्रिय पुरस्कार नै जिते कवि कृशु क्षेत्री सँग बेला बेला सम्पर्क हुन्छ। परराष्ट्र मन्त्रालयमा उच्च तहमा पुगेका क्षेत्री सँगै भावक अभियानले भेटाएका अर्का साहित्यकार गण्डकीपुत्र सँग बर्सौँ पछि ह्यारिसबर्गमा भेट भयो।
अहिले हामी सस्क्वाहाना नदी वारिपारि छौ। एक घण्टाको दुरी । म ल्यानक्यास्टर उनी योर्क । दुई फरक जिल्लाका बासिन्दा । बेला बेलामा ह्यारिसबर्गमा भेट हुन्छ।
अघिल्लो हप्ता म ओहायो जाँदै थिए। सनसाइन तेक्वान्दो च्याम्पियनसिपका लागि । बीच बाटोमा नयाँ नम्बरबाट म्यासेज आयो। नोभेम्बर ८ तारिख ह्यारिसबर्गमा हुने साहित्य परिषद् भुटानको ११ औँ सम्मेलनको निम्तो रहेछ ।
अलि पछि गण्डकीपुत्रको सिफारिस पनि । ‘अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकारहरूको यो ठूलो सम्मेलन हो। जानु पर्छ टाढा टाढाबाट साहित्यकार आउँछन्, सर्वज्ञ जी पनि आउने रे ।‘
सर्वज्ञ वाग्ले सँग पछिल्ला केही वर्ष सम्पर्क टुटेको थियो। भनिहाले साहित्य कार्यक्रममा जाँदाको ऊर्जा बेग्लै हुन्छ शरीरमा ।
जसले आफ्नो भाषा बोल्न, लेखन पढ्न पाउनु पर्छ भन्दा थाक थलोबाट रातारात खेदियो। जसले आफ्नो जातीको पहिचान खोज्दा देशबाट खेदियो। त्यो समुदायका साहित्यकारहरूको सृजना कस्तो होला?
३५ माइल दुरी गाडी चलाउँदै गर्दा मेरो मनमा पटक पटक आएको थियो। साहित्यको रसपान गर्दा कहिलेकाहीँ आँखा रसाउँछन्, अनि कहिले रगत भुलुक्क बनाउँछ। केही यस्ता शब्दले जिउ नै सिरिङ्ग बनाउँछ पनि।
‘नेपाली समय’ हाम्रोमा चलन चल्तीको। समयमै के कार्यक्रम शुरु होला र । भन्दै म ११ बजेको सेरोफेरोमा कार्यक्रम स्थल पुग्ने गरी हिँडेको थिए। साँढे दश बजेको समय दिइएको थियो मलाई कार्यक्रम शुरु हुने।

म पुग्दा कार्यक्रम ठ्याक्क शुरु भएको रहेछ। गायक मनोज राईको गीत सँगै कार्यक्रमको उद्घाटन भएको रहेछ।
ढोकामा उपस्थिति पुस्तिका थियो। हाजिर लगाउन । परिषद् बोर्ड सदस्य तथा लेखक तिला आचार्यको स्वागत मन्तव्यले कार्यक्रम अगाडि बढायो।
हलमा मान्छेको उपस्थिति राम्रै थियो। साहित्यिक कार्यक्रममा यो जमघट, ‘वाहु’ मनमनै सोचे। म कार्यक्रममा जाँदा क्यामरा आफै बोक्छु। भरे आफैले लेख्ने समाचारका लागि ‘फोटो’ कसै सँग माग्नु नपरोस् भन्दै।
तर आफू भन्दा दशकौँ कम उमेरकाले पनि ‘भाइ’ मेरो फोटो खिचिदेऊ ‘आदेश’ दिन्छन्। उनीहरुलाई लाग्दो हो आयोजकले पैसो तिरेर फोटो खिच्न ल्याएको मान्छे। यसको काम बढाइदिउ।
दर्ता डेस्कमा दिनभरि के के कार्यक्रम हुने को कसले कति मिनेट समय लिने भन्ने सूची थियो दुई पानाको।
म नेपाली भाषा साहित्यको कार्यक्रममा पुगेको । कार्यक्रम सूची भने अंग्रेजी भाषामा थियो। ‘ए’ भन्ने भयो।

तर त्यो खिन्नतालाई एकै छिनमा सङ्गीतकर्मी मुस्कान बलमपाखी र उनका विद्यार्थीहरूले मेटाइदिए।
‘लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो …’ दर्जन बढी बालबालिकाहरूको स्वर गुन्जियो।
‘हिमाल चुली मुन्तिर पानी भर्ने पधेरो…’ राष्ट्रकवि माधव प्रसाद घिमिरेको त्यो सृजना ।

अलि पहिला काठमाडौँ हुँदा कवि सँग मैले यो गीतको बारेमा कुरा गरेको थिए। हामी एउटै गाउँले। मेरा बाका बाल सखा हुन कवि। त्यो बेला गाईबस्तु चराउन जाँदाको कुरा, पानी पधेरोको कुरा खुब चाख लिएर सुनेको थिए। जुन कुरा मैले मेरो बा बाट सुन्न बाँकी थिए।
मुस्कान बलमपाखीले ह्यारिसबर्गमा अझ भनौँ पेन्सिल्भेनियामा ‘जबरजस्त’ एउटा साङ्गीतिक माहौल बनाएका छन्। नेपाली भाषा नै राम्रो सँग बोल्न नसक्ने, अमेरिकामा जन्मी हुर्किएका बालबालिकालाई नेपाली लोक संगित, नेपाली शास्त्रीय संगित सिकाउनु चानचुने कुरा हुँदै होइन।
बालबालिकाहरूको त्यो सुन्दर प्रस्तुति पछि साहित्य परिषद् भुटानका प्रधान सम्पादक शिव लाल दाहाल मन्च चढे।
उनको भागमा दश मिनेट छुट्टाइएको थियो। २० मिनेट मन्तव्य दिए । प्रस्तावना । नेपाली भाषा विरासत । सेप्टेम्बरलाई नेपाली भाषा महिना मनाउ। उनको प्रस्ताव थियो।
दिनभरिको कार्यक्रमलाई आयोजकले पट्यार लाग्दो हुन नदिन खोजिरहेको देखिन्थ्यो। लामा मन्तव्य पछि गीत संगित। बालबालिकाहरूको नृत्यले कान र आँखालाई राहत दिएको थियो।

सम्मेलनमा नेपाली भाषी भुटानी समुदायका तीन व्यक्तित्व विश्व क्षेत्री, अमल थुलुङ र रन्त गुरुङ सम्मानित भए।
विभिन्न क्षेत्रबाट नेपाली भाषी भुटानी समुदायमा पुर्याएको योगदानको सम्मान स्वरूप उनीहरूलाई कदर पत्र प्रदान गरिएको थियो। परिषद्का अध्यक्ष गंगा लामिटारेले खादा लगाए । प्रमुख अतिथि अनेसास अध्यक्ष सर्वज्ञ वाग्लेले कदर पत्र प्रदान गरे।

साहित्य परिषद् भुटानको ११ औ सम्मेलन ह्यारिसबर्गमा सम्पन्न
ह्यारिसबर्गमा यस कारण गरियो विश्व क्षेत्रीको सम्मान
पूर्व शिक्षक, खेलाडी एवं संङ्गितकर्मी अमल थुलुङ ह्यारिसबर्गमा सम्मानित
युफोरिया बान्डका संस्थापक रत्न गुरुङ ह्यारिसबर्गमा सम्मानित
त्यस पछि आर पी सुब्बा । जो ब्रेन लाइवेरीका अध्यक्ष । भर्जिनियाबाट आएका थिए। कार्यक्रममा सहभागी हुन् । उनले भुटानमा नेपाली साहित्यको बिकास क्रमको बारेमा इतिहास सुनाए। र वर्तमानमा हाम्रो नारायण गोपाल खै ? हाम्रो भक्तराज खै भनेर प्रश्न पनि गरे।
कार्यक्रममा सहभागी हुन फरक फरक राज्यबाट मान्छेहरू घण्टौँ ड्राइभ गरेर आएका थिए। दर्शक दीर्घामा कानेखुसी चल्दै थियो पनि। स्टेटमा कार्यक्रम अगाडि बढ्दै थियो। परिषद्का सचिव जो आफैँ उद्घोषक थिए, खेम रिजाल । समय व्यवस्थापनमा लागि रहेका थिए।
गायक मनोज राई र उनको परिवारले प्रदान गरेको सुकरा गीत, संगीत र गायन पुरस्कार । गीत तर्फ गोबिन्द होमगाईं, संगीत तर्फ अमर तुम्बापो, गायन तर्फ छवि न्यौपानेलाई प्रदान गरियो।
त्यसै समय कारयलमा हुने अर्को कार्यक्रमका लागि हतारमा रहेका गन्डकीपुत्रले परिषद्का अध्यक्ष गंगा लामिटारेलाई समर्पित कविता सुनाए र हस्तान्तरण पनि गरे।

कार्यक्रमको सभापतित्व गरिरहेका साहित्य परिषद्का अध्यक्ष गंगा लामीटारे संस्थाले गरेका कामका बारेमा चर्चा गरे र अब आफू अब अवकाश लिने संघारमा उभिएको बताए।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले प्रमुख अतिथि रहेको कार्यक्रममा पदम विश्वकर्मा सम्मानित भए।
कुबेर कुइँकेलको कविता संग्रह “अन्त्यको सुरु” लोकार्पण गरियो। छवि न्यौपाने गीत र धर्मेंद्र तिम्सिना गजल वाचन गरे।
मुना स्मृति कथा पुरस्कार लेखक कृष्ण लिम्बुलाई प्रदान गरियो। सो पुरस्कार लेखक तथा पत्रकार भक्त घिमिरेको परिवारले प्रदान गर्दै आएको छ।
लिला निशा, भगीरथ फूँयालको कविताले कार्यक्रमलाई अगाडि बढाउँदै थियो । गोबिन्द गिरि प्रेरणाले कार्यपत्र प्रस्तुत गरे। नेपाली भाषा साहित्यका बारे।
रचना सहित देवीका बराल मन्च चढिन। तुम्बेहाङ लिम्बुले कविता सुनाए। क्यानडाबाट आएका खगेन्द्र गौतम र कृष अधिकारीले अर्को कार्यपत्र प्रस्तुत गरे। द्रौपदी प्रधानको कविता सँगै लेखक रमेश दियाली र आईत सीङ राई साहित्य सम्मान गरियो।
बीचमा केही घण्टा म सस्क्वाना पारी कारलयमा अर्को कार्यक्रम पुगेर फर्किएको थिए। डा. भोला शिवाकोटी “पुरानाघरे” ले प्रस्तावना वाचन गर्दै थिए।
अघि भरी भराऊ दर्शक दीर्घा ७५ प्रतिशत खाली भइसकेको थियो। दिनभरिको कार्यक्रम भएर होला म जस्तै अर्को ठाउँमा पनि काम भएका निस्किए। कोही फर्किए कोही फर्किएनन्।
पुरानाघरेको प्रस्तावना पछि हलमा दाँत ढुङ्गा लागे जस्तै भयो। उनले आफ्नो मन्तव्यमा केही सुझाव दिएका थिए। उनी भन्दा अगाडिका प्रस्तावमा पुरानाघरेको केही असहमति थियो।
नेपाली भाषी भुटानीहरुको पहिचान : विगत वर्तमान र भविष्यको यात्रा-एक प्रस्तावना
एउटै व्यक्तिलाई १७ पटक मञ्चमा किन चढाएको भन्ने प्रश्न पनि थियो।
पुरानाघरेले प्रस्तावना पढी सकेर तल झर्न नपाईकन हत्तपत्त गएर माइक पक्रेर शिवलाल दाहालले भने “तपाईँलाई हामीले पहिलै कारवाही गरेका हौँ बुझ्नुस्, यो कार्यक्रम हाम्रो हो । हामी कसलाई के गर्न दिने र को कति बोल्ने त्यो हाम्रो कुरा हो”
हो । दाहाल आयोजक हुन्।
पुरानाघरे बोलाएरै कार्यक्रममा आएका होलान्। प्रस्तावना तयार पार्न भनिएकै होला। आफैले बोलाएको पाहुनालाई त्यति चैँ नभनेको भए पनि हुने थियो की ? अधिकांश खाली कुर्ची बीचमा रहेका केही दर्शक कानेखुसी गर्दै थिए।
पुरानाघरेको प्रस्ताव थियो, ‘हामी सगोलमा एउटा समूह निर्माण गरेर अगाडि बढौँ ।‘ उनी प्रश्न गर्दै थिए, ‘एउटै मान्छे बारम्बार स्टेज चढिरहनु पर्ने थिएन की?’
अनि उनले पुस्तान्तरणको प्रसङ्ग पनि कोट्याएका थिए। त्यतिमै आयोजकको हैसियतले अलि नसुहाउने ‘गाली साहित्य’ लाई प्राथमिकता नदिएको भए हुन्थ्यो की ?
यो त पाहुना खान गएको घरमा दाँतमा ढुङ्गा लागे जस्तो भयो। जति नै मिठो खाना होस दाँत नै भाँचिए पछि के गर्ने भने जस्तो।
यो ‘नोक-झोक’ ले कार्यक्रम भने रोकिएन। त्यस पछि पनि विष्णु लुइँटेलले कथा भने। इनासकी पूर्व अध्यक्ष जो सिङ्गो कार्यक्रम धैर्यता पूर्वक सुनिरहेकी थिइन गीता खत्रीले मन्तव्य दिइन्।
साहित्य कला संगम ल्यानक्यास्टरका संयोजक दिपेश चापागाईँले गजल सुनाए। नारद अधिकारीको मन्तव्य । क्रियामण फाउन्डेशनका सिइयो भरत तिम्सिनाले पनि कविता सुनाए।
प्रमुख अतिथि अनेसास अध्यक्ष सर्वज्ञ वाग्लेले हलको माहौल अनुसार नै आफ्नो मन्तव्य दिए। आयोजकको तर्फबाट लेखक पत्रकार भक्त घिमिरेले धन्यवाद ज्ञापन गरे।
कार्यक्रमका सभापति परिषद्का अध्यक्ष गंगा लामिटारेले सभा विसर्जन गरे । मलाई फेरि अर्को कार्यक्रम जान हतार थियो। गायक नितेश जङ्ग कुँवरले लाइभ ब्यान्डमा प्रस्तुति दिँदै थिए।
म त्यो हलबाट निस्कँदै थिए मनमा आयो । दुई सज्जनहरू बीचको नोक-झोक । बोलाएको पाहुनालाई माइकै मै त्यसरी त भन्न नहुने।
गाडि ह्यारिसबर्ग डाउन टाउन तिर हुइँकिरहेको थियो।
झन्डै फेरि एक्जिट नभुलेको । झल्याँस्स भए।
जीवनमा धेरै पटक एक्जिट भुल्दा पाएका हैरानीका कथाहरू जुन किताबै बन्ने गरी म आफै सँग छ।
अनि नि साँच्ची सम्मेलनको घोषणा पत्र खै त ?
मलाई लागेको थियो अमेरिकामा रहेका नेपाली साहित्यका मूर्धन्य व्यक्तिहरूको त्यत्रो भेला । एउटा घोषणा पत्र आउँछ होला ।
गोडाले झ्याप्प ब्रेक हान्यो।
‘गेडे जस्तो जिन्दगी….’ का गायक नितेश जङको कार्यक्रम स्थल अगाडि पुगिसकेको रहेछु।















