ओएचआरसी ह्यारिसबर्गद्वारा बालबालिकालाई उद्घोषण तालिम
ह्यारिसबर्ग पेन्सिल्भेनिया/ अर्गनाइजेशन अफ हिन्दु रिलिजन एण्ड कल्चर (ओएचआरसी) ह्यारिसबर्ग पेन्सिल्भेनियाले बालबालिकाहरूलाई उद्घोषण तालिम दिएको छ।
ह्यारिसबर्ग स्थित श्री लक्ष्मी नारायण हरिहर धाममा आइतबार उद्घोषण तालिम दिइएको हो। तालिममा अमेरिकामा जन्मी हुर्किएका बालबालिकाहरू सहभागी थिए।
ओएचारसी युथ विभाग अन्तर्गत प्रशिक्षण आयोजना गरिएको हो। जसको नेतृत्व ओएचआरसीका मिडिया संयोजक सिएम निरौलाले गरेका छन्। विभागमा हाल सम्म ४० जना जोडिएको जनाइएको छ।
ओएचआरसीका सचिव अभि न्यौपानेले युवा पुस्तालाई पनि धर्म र संस्कृतिमा जोड्न यस्तो प्रशिक्षण सहयोगी हुने बताए।
‘हामीलाई के छ भने धार्मिक संस्था हो यसमा यूथको केही पनि अब त्यसमा केही हुँदैन भन्ने खालको बेला बेलाई यो लान्छना आइरहन्छ ।‘ न्यौपानेले भने, ‘तर यसलाई हामी के प्रमाणित गर्न खोज्दै छौ भने यो हैन यूथले धार्मिक संस्थामा आएर पनि विभिन्न कार्यक्रमहरूमा समावेश गर्न सक्छन्। यसमा धार्मिकै मात्रै हुँदैन यसमा सांस्कृतिक पनि छन्।‘

यस्तै ओएचआरसीका एचआर रोहित दाहालले यस्तो प्रशिक्षणले नेपाली शिक्षा पाठशालामा अध्ययनरत विद्यार्थीहरूलाई थप मदत पुग्ने बताए।
‘हाम्रा कार्यक्रम भइराखेका हुन्छन् तर उहाँहरू (बालबालिकाहरू) अलिकति अगाडि गएर नेपाली भाषामा प्रस्तुत गर्न अलिकति गाह्रो भइराखेको हुँदा र उनीहरुले आफ्नो आफ्नो विद्यालयमा आफ्नै प्रकारले गरिराखेको हुँदा ब्रिज गर्नको लागि हामीले यो सुरु गरेको हौ।‘ दाहालले भने।
दाहालले ओएचआरसीका कार्यक्रममा बालबालिकाहरूले उद्घोषण गर्दा अभिभावकमा पनि राम्रो सन्देश जाने आफूहरूले पाएकाले त्यसै अनुरूप जनशक्ति तयार पार्न लागिएको बताए।
‘हाम्रा धेरै बाबा आमाहरूले आफ्ना नानीहरूले प्रस्तुत गरेको अलि धेरै राम्रो गरी रुचाउने अरू हामीले गरेको भन्दा नानीहरूले गरेको चाहिँ ए हाम्रो नानीहरूले पनि जाने छन्। उनीहरुले पनि सिके छन्।‘ दाहालले भने, ‘नानीहरूले गरेको प्रस्तुत चाहिँ फेरि जेनेरल पब्लिकहरूले उहाँका समकालीन व्यक्तिहरुले पनि राम्रो गरी लिने हुँदा हामीलाई यो एकदम आवश्यक तालिम आयोजना गरेका हौ।‘
दाहालले उद्घोषण तालिम शुरुवात भएको र यसलाई निरन्तता दिने बताए।

ओएचआरसीका मिडिया संयोजक सिएम निरौलाका अनुसार १८ जना आइतबारको प्रशिक्षणमा सहभागी थिए।
मिडिया संयोजक निरौलाले ओएचआरसीमा समाजका युवाहरूलाई सहभागी गराउन यस्तो प्रशिक्षण आयोजना गरिएको बताए।
‘हाम्रो समाजमा युवाहरूलाई धर्म, संस्कार, संस्कृति अथवा साहित्य तिर कहिले पनि हामीले प्लेटफर्म दिनौ भन्ने कुरा भई नै रहन्थ्यो । ओएचआरसीमा अब युवाहरूलाई पनि स्थान दिनुपर्छ भनेर विगतका वर्षहरू देखि काम गरिराखेको थियो। र यसपालि चाहिँ हामीले छुट्टै एउटा युथ फोरम नै गठन गरेका थियौँ।‘ निरौलाले भने।
निरौलाले प्रशिक्षण निःशुल्क रुपमा नै आयोजना गरिएको बताए।
पेन्सिल्भेनियाको ल्यानक्यास्टर निवासी गजलकार त्रिविक्रम न्यौपानेले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।
उनले उद्घोषणका लागि अत्यावश्यक कलाका बारेमा आफूले प्रशिक्षण दिएको बताए।
‘यो स्टेज होस्ट ट्रेनिङ हो, नानीहरूलाई पनि बीच बीचमा प्रफर्म गर्न लगाएर कसरी होस्ट गर्ने, प्रत्येक च्याप्टर च्याप्टरको सानो सानो प्रफर्म गर्न लाएर, होस्टमा हुनुपर्ने मुख्य गुणहरू सिकाएका छौँ।‘ तालिम पछि समाज टाइम्स सँगको कुराकानीमा न्यौपानेले भने।
उद्घोषण तालिममा सहभागी भगी प्रधानले आफूलाई प्रयोगात्मक रुपमा प्रशिक्षण उपयोगी भएको बताइन्।
‘कति कुरा त जानिरहेको हो तर पनि अब प्रक्टिकलमा छैन भनौँ न अनि त्यही भएर पनि यो ट्रेनिङमा आउन इच्छुक भएको हो।‘ प्रधानले भनिन्, ‘अ यो ट्रेनिङमा अब प्रक्टिकलमा हुनको लागि धेरै इम्पोर्टेन्ट छ।‘
प्रधानले समय व्यवस्थापन देखि, दर्शकलाई कसरी आफूतर्फ आकर्षित गराउने भन्ने तालिममा सिकेको बताइन्।
यस्तै अर्की प्रशिक्षार्थी दिव्या घिमिरेले आफूले व्यवहारिक ज्ञान पाएको प्रतिक्रिया दिइन्।
‘हामीले सिक्यौँ कि अगाडि बोल्दा खेरि अडियन्सलाई धेरै हेर्नु पर्छ, आँखामा हेर्नु पर्छ अनि अडियन्सलाई इन्गेज गरी राख्नु पर्छ।‘ दिव्याले भनिन्, ‘अनि स्टेज पनि कभर गरेर सबै तिर हिँड्नु पर्छ अनि गल्ती भयो भने जोक सानो सानो जोक भनेर त्यसलाई सुधार गर्नु पर्छ भन्ने सिके।‘
हिन्दु (वैदिक) सिद्धान्तहरूमा आधारित सामाजिक, सांस्कृतिक, धार्मिक र आध्यात्मिक समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य सहित ओएचआरसी सन् २०१३ मा स्थापना भएको हो।
ओएचआरसीले एक दशक देखि नेपाली शिक्षा अन्तर्गत नेपाली भाषा पाठशाला सञ्चालन गर्दे आएको छ।
र यो पनि …
पेन्सिल्भनेनियामा सञ्चालित नेपाली भाषा कक्षा दशौँ वर्षमा प्रवेश















