पेन्सिल्भनेनियामा सञ्चालित नेपाली भाषा कक्षा दशौँ वर्षमा प्रवेश
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ एघार वर्षीय एरोन ढकालका लागि पछिल्लो पाँच हप्ता देखि हरेक शनिवारको दैनिकी फेरिएको छ। बिहान नौ बज्नु अगाडि नै उनी ह्यारिसबर्गको डेरी स्ट्रिट नजिकै रहेको हिन्दु धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) को भवनमा पुग्छन्।
त्यही भवनमा श्रीलक्ष्मीनारायण हरिहर धाम पनि छ। एरोन त्यहाँ भगवानको दर्शन भन्दा पनि नेपाली भाषा कक्षामा भाग लिन पुगेका हुन्। एरोनकै जस्तै उद्देश्य बोकेर पहिलो दिन आउने देखि आठ वर्ष सम्म निरन्तर आइरहेका गरी ७५ जना विद्यार्थी त्यहाँ भेटिन्छन्।
‘शुरुमा त आमाले कर गरेर पठाउनु भएको हो तर अहिले रमाइलो लागि गरेको छ। ‘उत्साहित एरोनले अगाडि भन, ‘लेखेर देखाऊँ, मलाई नेपाली लेख्न आउँछ।‘उनले पङ्क्तिकारलाई बाह्रखरी लेखेर देखाए। उनले भाषा कक्षामा आए पछि नै नेपाली लेख्न शुरु गरेको बताए।
यस्तै १२ वर्षका असीम न्यौपाने नेपाली भाषा कक्षामा आउन थालेको आठ वर्ष भयो। ‘नेपाली भाषा सिकेर बाबा आमा सँग कुरा गर्न सजिलो भएको छ।’ उनी भन्छन्।
एघार वर्षीय आँचल न्यौपानेले अब केही वर्ष अझै विद्यार्थीको रुपमा रहेर त्यस पछि भाषा कक्षामा स्वयम सेवक बन्ने योजना बुनेकी छिन्। ‘अहिले त म नेपालीमा लेखिएको कथा पढ्न सक्छु।’ पाँच वर्ष देखि निरन्तर भाषा कक्षामा सहभागी आँचलले भनिन्।
हिन्दु धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) सन् २०१३ मा स्थापना भएको हो। यो संस्था तेस्रो मुलुकमा पुनर्वास अन्तर्गत अमेरिकामा आएका नेपाली भाषी भुटानी शरणार्थीहरूको स्थापना गरेका हुने। यस्तै सोझै नेपालबाट आएका नेपालीहरू पनि यो संस्थामा जोडिएका छन्। सन् २०१५ को मार्च देखि नेपाली भाषा कक्षा शुरु गरिएको हो।
‘अमेरिका आए पछि मौलिक भाषा बिर्सँदै जाँदा आमाबुबा सँग पनि दुरी बढ्ने भयो, उनीहरुले आफ्नो भाषा बिर्सने भए। आफ्नो पन रहिरहोस् भनेर शुरु गरेका हौ। ‘ओएचआरसीका अध्यक्ष प्रेम खनालले भने, ‘आफ्नो पनि नविर्सियोस अरूको पनि सिकोस्, घरमा नेपाली बोलिदियोस् भन्ने हो।‘
ओएचारसीले नेपाली भाषा कक्षाका लागि छुट्टै शिक्षा विभाग बनाएको छ। त्यसको निर्देशकमा नवीन शर्मा भट्टराई छन्। भाषा कक्षाका लागि आवश्यक बजेट ओएचआरसीले नै व्यवस्था पनि गर्ने गरिएको छ। शुरुमा निःशुल्क गर्ने गरिएकोमा यो वर्ष देखि एक वर्षको एक सय डलर शुल्क लिने गरिएको छ।
‘शिक्षकलाई ग्यास खर्च भनेर महिनाको ५० डलर दिने गरेका छौ।‘अध्यक्ष खनालले भने।
निर्देशक भट्टराईका अनुसार ७५ जना विद्यार्थी शिक्षक र स्वयम सेवक गरी सात सात जना छन्।
भाषा कक्षाका स्वयम सेवक टिक रिजालका अनुसार विद्यार्थीहरूलाई उनीहरूको क्षमता हेरेर चार वटा कक्षाकोठामा पढाउने गरिएको छ। हरेक शनिवार बिहान नौ देखि ११ बजे सम्म कक्षा सञ्चालन हुन्छ।
६ वर्ष देखि पढाउँदै आएकी शिक्षिका ममता न्यौपाने केही अलिअलि जानेका र केही जान्दै नजानेका बालबालिका नेपाली भाषा सिक्न आउने गरेको बताइन्।
‘केही नजानेको पनि आउँछन्। कोही सिकेर आउँछन्। विद्यार्थी हेरेर कक्षा छुट्ट्याउन।‘शिक्षिका न्यौपानेले भनिन्, ’तह तह सिकाउँछौ। शुरुमा अक्षर चिनाएर शब्द बनाउने र आधी अक्षर सिकाए पछि अर्को कक्षामा उक्लन्छन्।‘
अर्की शिक्षिका इन्दुश्री चौहानले भाषा कक्षामा आएकालाई नेपाली बोल्न, पढ्न र लेख्न सक्ने बताउने उद्देश्य रहेको बताइन्।
‘कोही कोही घरमा पनि सिकेर आउनु भएका छन्, हाम्रो प्राथमिकता नेपाली लेख्न पढ्न सक्ने बनाउनु हो। भाषा सँग सँगै हाम्रो संस्कृति र चाडबाडका बारेमा पनि जानकारी गराउँछौ। ‘चौहानले भनिन्।
ओएचआरसीको भाषा कक्षामा अहिले सम्म आठ सय भन्दा धेरैले नेपाली भाषा सिकेको तथ्याङ्क छ। स्वयम सेवक महेन्द्र अधिकारीका अनुसार चर्च, स्थानीय स्कुल हुँदै नेपाली पाठशाला अहिले ओएचआरसीको भवनमा आइपुगेको हो।
‘जुन सुकै कुरा पनि शुरु गर्न कठिन हुन्छ, जागरण ल्याउन पर्यो शुरुमा गाह्रो भयो तर पनि शुरुमा नै धेरै राम्रो विद्यार्थी संख्या भएको थियो। सबै धर्म समुदायबाट नेपाली भाषी नानीहरू आए र हामीले पठाउन थाल्यौ। ‘अधिकारी दश वर्ष अगाडिको दृश्य सम्झँदै भन्छन्।
‘साउथ साइड एलिमेन्ट्री स्कुलको कक्षा कोठामा पनि नेपाली भाषा कक्षा सञ्चालन गर्यौ, दुई सय भन्दा माथि विद्यार्थी, १७ जना शिक्षक थिए। ‘अधिकारीले त्यो बेलाको परिस्थिति सम्झाए।
ह्यारिसबर्गमा ४० हजार भन्दा धेरै नेपाली भाषीको सहभागिता रहेको तथ्याङ्क छ। तर नेपाली भाषा कक्षामा विद्यार्थीको संख्या भने घट्दै गएको छ।
‘२०१५ देखि १८ सम्म राम्रो थियो। अभिभावक र विद्यार्थीको चासो थियो। एक कक्षा देखि सात कक्षा सम्म पढेका थिए। तर कोभिडले असर पार्यो, ह्यारिसबर्गबाट बसाइ सरेर जाने क्रम बढ्यो ओएचआरसीको भवनमा आए पछि एउटा समुदायको मात्र देखिन्छ भन्ने आयो भवन एउटै भए पनि मन्दिर र पाठशाला फरक हुन्। ‘अधिकारीले भने।
स्वयम सेवक टिका रिजाल मन्दिर र भाषा कक्षा एउटै भवनमा भए पनि आउने जाने ढोका नै फरक भएको बत्ताउँछन्। ‘कतिपयलाई मन्दिर भित्र भाषा कक्षा भयो भन्ने परेको रहेछ, त्यस्तो होइन, मन्दिर जाने आउने र भाषा कक्षा जाने आउने ढोका नै फरक हो। भाषा कक्षामा आउँदा जुत्ता नै खोल्न पर्दैन।’
भाषा कक्षाका निर्देशक भट्टराई दिन दिनै चुनौती थपिँदै गएको बत्ताउँछन्। ‘वित्तीय कुरा पनि छ, विद्यार्थीको संख्या पनि घट्दो छ, शिक्षक र स्वयम सेवक पनि अभाव छ।’ भट्टराईले भने।
चुनौतीका बिचमा पनि ओएचआरसीका अध्यक्ष प्रेम खनाल पाठशालाको निरन्तरताको लागि प्रयास गर्दै जाने बताउँछन्।
‘जति आउँछन् उनीहरूलाई सिकाउँदै जाने हो।’ अध्यक्ष खनाल भन्छन्।