ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
ललितपुर । युनेस्कोबाट संगीत विधामा सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरपालिकाले संगीतको क्षेत्रमा आफ्ना क्रियाकलापलाई अघि बढाउन आगामी चार वर्षका निम्ति कार्य योजना तयार पारेको छ ।
बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले चार वर्षका निमित्त कार्य योजना तयार पारेको जानकारी दिएका हुन् ।
ललितपुर महानगरपालिकाले संगीत विधामा ‘यूनेस्को सिर्जनात्मक शहरहरुको सञ्जाल’ को सदस्यताको लागि पहल गरेको थियो । सोही कारण २०२५ अक्टोबर ३१ मा ‘विश्व शहर दिवस’ को अवसर पारेर ललितपुर महानगरपालिकालाई ‘युनेस्को संगीतको श्रृजनात्मक शहर’ घोषणा गरिएको हो ।
ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको शहरको रुपमा घोषणा पश्चात परम्परागत, समकालीन तथा आधुनिक संगीतको जगेर्ना गर्दै यस क्षेत्रमा विशेषतः युवाहरूलाई प्राथमिकताका साथ सहभागी गराई संगीतलाई रोजगारी सिर्जनाको माध्यम बनाउन महानगरपालिकालाई महत्त्वपूर्ण जिम्मेवारी र अवसर प्राप्त भएको पनि उनको भनाई छ ।
उनले संगीतको माध्यमबाट ललितपुर महानगरपालिकाको छवि र परिचयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप उँचो बनाउन सम्पूर्ण नगर बासी र संगीत क्षेत्रमा लागेका संगीत साधक र संगीतप्रेमीको साथ, सहयोग अपेक्षा गरेको पनि बताए ।














