भर्जिनियामा कुकुर तिहार महोत्सव हुने
भर्जिनिया/ अमेरिकाको भर्जिनिया राज्यमा कुकुर तिहार महोत्सव हुने भएको छ। ओभर रियल्टीले महोत्सव आयोजना गर्न लागेको हो । तिहारमा कुकुरको पनि विषेश पूजा हुन्छ।
अक्टोबर २६ तारिख आइतबार दिउँसो १२:०० बजे देखि ३:०० बजे सम्म ४६०३ जेम्स म्याडिसन हाईवे, हेमार्केट, भर्जिनिया २०१६९ मा अवस्थित जेम्स एस. लङ क्षेत्रीय पार्कमा महोत्सव आयोजना हुने छ।
‘यो कार्यक्रम केवल एउटा जमघट मात्र होइन; यो नेपालको पाँच हजार वर्ष पुरानो परम्पराबाट प्रेरित उत्सव हो। यो कुकुरहरूले प्रदान गर्ने वफादारी, मित्रता र निःशर्त प्रेमको सम्मान गर्न समर्पित दिन हो।’ महोत्सव आयोजक संस्थाका ज्याक तिवारीले भनेका छन्।
‘मानिस र कुकुर बीचको गहिरो र आनन्ददायी बन्धनको प्रमाण हो। हामी यो सुन्दर परम्परालाई संयुक्त राज्य अमेरिकामा ल्याउन पाउँदा धेरै गर्व गर्छौँ, कुकुरहरूको लागि विश्वव्यापी प्रेमको वकालत गर्दै, र अक्टोबरको अन्तिम आइतबार यसलाई वार्षिक रूपमा मनाउँछौँ।’ कार्यक्रम आयोजना बारेमा जारी गरिएको सूचनामा भनिएको छ।
महोत्सवमा विशेष कुकुर आशीर्वाद समारोह, फूलको माला र टीका अनुष्ठानका साथ मनाइने बताइएको छ। त्यहाँ उपहार, कुकुर-मैत्री खेलहरू, प्रत्यक्ष संगीत हुने जनाइएको छ।
कार्यक्रममा प्रवेस निःशुल्क रहने जनाइएको छ। ‘हाम्रा वफादार साथीहरूलाई सम्मान गर्न र समुदाय, संस्कृति र सम्बन्धको उत्सव मनाउन सँगै आऔँ। उपस्थित हुन नि:शुल्क छ, यद्यपि हामी तपाईँलाई दर्ता गर्न अनुरोध गर्दछौँ ताकि हामी सबैको लागि राम्रो तयारी गर्न सकौँ।’ विज्ञप्तिमा भनिएको छ।









