युवासँगै देश घाइते अवस्थामा छ, सबै मिलेर उपचार गरौँ : मन्त्री खरेल
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरूलाई भेटेका छन् ।
शुक्रबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको बताए ।
उनले भने, ‘यो सरकार जेनजीहरुको रगतको जगमा बनेको हो, यो खेर फाल्न दिनुहुँदैन । उहाँ मात्र घाइते भएको होइन देश नै घाइते छ । हामीले घाइतेहरूको उपचार गर्नु छ, साथै देशको उपचार गर्नुपर्छ,’ उनले डाक्टरसँग थप भने, ‘सबै बिरामीलाई राम्रोसँग हेर्नुहोला र हामी साथमा छौ ।’
उनले बिरामीहरूसँग कुरा गर्दै बिरामीबाट सरकार टाढा नरहेको बताए । उनले केही समयपछि पुनः अस्पतालमा अवस्था अनुसार बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्न आउने बताए ।
खरेलले घाइतेहरूको स्वास्थ्यमा बिस्तारै सुधार आइरहेको र जतिसक्दो छिटो घाइतेहरूलाई उपचार गराई सामान्य जीवनका फर्काउन अस्पताल लागि परिरहेको समेत बताए ।








