प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता

Getting your Trinity Audio player ready...
|
काठमाडौं । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले देशवासीका नाममा पहिलो पटक सम्बोधन गरेकी छन् ।
बिहीबार उनले देशको पछिल्लो अवस्था र अबका कदमहरूबारे जनतालाई जानकारी गराएकी हुन् ।
पहिलो पटक सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको क्रममा विद्यार्थी र युवाहरूको मृत्यु हुने गरी भएको घटनाको दोषीलाई कारबाही गर्ने बताएकी छन् । उनले आन्दोलनको क्रममा ज्यान गुमाउने व्यक्तिहरूलाई शहिद घोषणा गरी निजका परिवारलाई आर्थिक राहतको व्यवस्था समेत गरिएको बताइन् .।
उनले भनिन्, ‘जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउने व्यक्तिहरूलाई शहिद घोषणा गरी निजका परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ । साथै सरकारले घाइतेहरूको निःशुल्क औषधि उपचार तथा क्षतिपूर्तिको प्रबन्ध गरेको छ । जेनजी विद्यार्थी युवायुवतीहरूले अनायासै ज्यान गुमाउनु भएको छ त्यसमा सम्बद्ध दोषीहरूलाई शक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।’
यसै गरी उनले जटिल परिस्थितिमा मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेभित्रै आम निर्वाचन हुने समेत बताइन् । उनले विदेशमा रहेका नागरिकलाई विदेशबाट पनि मतदानमा सहभागी गराउन सक्ने सम्भावनाबारे पनि छलफल भइरहेको बताइन् ।
उनले भनिन्, ‘यस जटिल परिस्थितिमा मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेभित्रै स्वतन्त्र निष्पक्ष भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक पर्ने जनशक्ति, बजेट, निर्वाचन सामाग्री, सुरक्षा र कानुनी व्यवस्था लगायतका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरी आम निर्वाचनको प्रारम्भिक कार्य सुरु गरिसकिएको छ ।’
यसै गरी प्रधानमन्त्रीले संविधान संशोधन र शासकीय स्वरूप फेर्ने अधिकार अन्तरिम सरकारलाई नभएको बताइन् ।
उनले भनिन्, ‘६ महिने कार्यकाल रहेको सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था छैन । तैपनि हामी कतिसम्म गर्न सक्छौँ त्यसको इमानदार प्रयास गर्नेछौँ । नेपालको संविधान र शासकीय स्वरूपबारे जेनजी पुस्ताले आन्दोलनको क्रममा उठाएको विषय वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय हो ।’