मन्त्री यादवको विवादास्पद अभिव्यक्ति : काँग्रेस महामन्त्रीको तीन विकल्प
काठमाडौँ /भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले रौतहटमा अभिव्यक्त गरेको कुरा गैर जिम्मेवार भएको भन्दै चौतर्फ विरोध भए पछि नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले यसमा चासो व्यक्त गरेका छन् । उनले यसैलाई इङ्गित गर्दै मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्तिको उपचार; तिन विकल्प भन्दै विकल्प प्रस्तुत गरेका छन् ।
महामन्त्री शर्माले पहिलो विकल्पको रूपमा स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचनाको विकल्प पेस गरेका छन् । यसै गरी उनले सम्बन्धित दलद्वारा पहलकदमी लिएर राजीनामा गर्न लगाउने तथा पद्य मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्न सकिने विकल्प प्रस्तुत गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमित उनले आइसोलेसनबाटै सबै सम्बन्धितको ध्यानाकर्षण गराएको जनाएका छन् ।
शर्माले यस विकल्पका कारण समेत उल्लेख गरेका छन् । पहिलो कारण राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनै पर्ने जनाएका उनले हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट भए पनि स्वीकार्य नहुने कुरा उल्लेख गरेका छन् । उनले विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्ने बताउँदै यसलाई रोमान्सको अभिव्यक्ति बन्न नहुने उल्लेख गरेका छन् ।







